Logo

२० पुष, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक वृत्तमा सरगर्मी बढ्न थालेको छ ।

यसै सिलसिलामा प्रगतिशील लोकतान्त्रिक पार्टीको सुनसरी जिल्ला कार्यसमितिमा चर्चित नेता सुदन किरातीलाई सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ । पार्टीका सुनसरी इन्चार्ज शालिक राईले काठमाडौँको सुविधानगरस्थित केन्द्रीय कार्यालयमा औपचारिक पत्र पठाउँदै किरातीको नाम एकल रूपमा अघि सारेका हुन् ।

यो निर्वाचन क्षेत्र विशेष गरी धरान उपमहानगरपालिका समेटिएको र स्थानीय राजनीतिमा निकै प्रभावशाली मानिने हर्क साम्पाङको कार्यक्षेत्र भएकाले पनि सबैको चासोको केन्द्र बनेको छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका मेयर साम्पाङले आगामी निर्वाचनमा कुन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भन्नेबारे अहिलेसम्म आधिकारिक घोषणा नगरे पनि, सोही क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीले किरातीलाई उम्मेदवार बनाउने तयारी गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

जिल्ला तहबाट गरिएको यो सिफारिससँगै सुनसरी(१ को चुनावी प्रतिस्पर्धा निकै रोचक हुने सङ्केत देखिएको छ । सुदन किरातीको राष्ट्रिय छवि र धरानको स्थानीय राजनीतिक समीकरणले निर्वाचनको नतिजामा पार्ने प्रभावबारे अहिलेदेखि नै विभिन्न अडकलबाजीहरू सुरु हुन थालेका छन् । केन्द्रीय नेतृत्वले यस सिफारिसलाई अनुमोदन गरेमा आगामी निर्वाचनमा किराती र सम्भावित अन्य उम्मेदवारहरूबीचको भिडन्तलाई चुनावी बजारमा निकै उत्सुकताका साथ प्रतीक्षा गरिनेछ ।


सम्बन्धित समाचार