२० पुष, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई नियन्त्रणमा लिइएको घटनाप्रति कडा आपत्ति जनाउनुभएको छ ।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले एउटा सार्वभौम र जननिर्वाचित राष्ट्रप्रमुखलाई अर्को देशको राष्ट्रप्रमुखको आदेशमा सैन्य बल प्रयोग गरी नियन्त्रणमा लिनु संयुक्त राष्ट्रसंघको बडापत्रको ठाडो उल्लंघन भएको बताउनुभएको हो । उहाँले यस प्रकारको कदमले संयुक्त राष्ट्रसंघ लगायतका विश्व संस्थाहरूको औचित्यमाथि नै गम्भीर प्रश्न खडा गरेको र यो आधुनिक विश्वका लागि कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने उल्लेख गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय कानुन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रहार भएको भन्दै महासचिव पोखरेलले यो घटनाले विश्वकै सार्वभौमिकताको सिद्धान्तलाई कमजोर बनाएको विश्लेषण गर्नुभएको छ । सभ्य समाजमा यस्ता सैन्य हस्तक्षेपले स्थान पाउन नहुने तर्क गर्दै उहाँले भेनेजुएलामा भएको अमेरिकी सक्रियता र त्यसपछि लगाइएका अभियोगहरूका सन्दर्भमा स्वयं अमेरिकी समाजभित्रै पनि गम्भीर र जिम्मेवार बहस हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
अन्तर्राष्ट्रिय जगतमा यस घटनालाई लिएर पक्ष र विपक्षमा बहस भइरहेका बेला नेपालको प्रमुख राजनीतिक दलका प्रभावशाली नेताबाट आएको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । महासचिव पोखरेलले कुनै पनि देशको आन्तरिक मामिला र नेतृत्वको छनोटमा बाह्य सैन्य हस्तक्षेप हुनुले विश्व व्यवस्थामा थप अस्थिरता र असुरक्षा निम्त्याउने जोखिम रहेको भन्दै यसप्रति विश्व समुदाय सचेत रहनुपर्ने सन्देश दिनुभएको छ ।














