Logo

२० पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय बजारको तरलता व्यवस्थापन गर्ने उद्देश्यले थप २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ग’ उपकरणमार्फत एक वर्षे अवधिका लागि यो ऋणपत्र जारी गर्न लागेको हो । यसका लागि आइतबार (पुस २०० मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल आह्वान गरिएको छ, जहाँ ब्याजदरको निर्धारण पनि बोलकबोल प्रक्रियाबाटै तय हुनेछ । यसअघि पुस १४ र १६ गते पनि बैंकले २५–२५ अर्ब कै ‘क’ र ‘ख’ शृङ्खलाका ऋणपत्रहरू सफलतापूर्वक जारी गरिसकेको छ ।

यस ऋणपत्र खरिदका लागि केवल ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र योग्य मानिएका छन् । इच्छुक संस्थाहरूले न्यूनतम पाँच करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यो ऋणपत्रमा लगानी गरिएको रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए तापनि वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपात कायम गर्न भने उपयोग गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

यो ऋणपत्रको सावाँ भुक्तानी आगामी २०८३ पुस २० गते हुनेछ भने लगानीकर्ताले अर्धवार्षिक रूपमा ब्याज प्राप्त गर्नेछन् । राष्ट्र बैंकले परिपक्व अवधि समाप्त नभएसम्म सावाँ रकम फिर्ता नहुने सर्त राखेको छ। छोटो समयको अन्तरालमा तेस्रो पटक जारी गरिएको यस ऋणपत्रले बजारमा रहेको अधिक तरलतालाई खिच्न र वित्तीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार