Logo

२० पुष, काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिकामा वन्यजन्तुको वितण्डाका कारण एक वृद्धले अकालमा ज्यान गुमाएका छन् ।

शनिबार दिउँसो राप्ती सोनारी–१, कुसुमस्थित सौरीको स्थानीय वनमा गाई चराउन गएका ६२ वर्षीय मरिचमान भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको हो । दिउँसो साढे १ बजेतिर गाईवस्तु चराइरहेको अवस्थामा झाडीबाट निस्किएको बाघले एक्कासि भण्डारीमाथि जाइलागेको थियो । प्रत्यक्षदर्शीका अनुसार अन्य साथीहरूसँगै वनमा रहेका भण्डारीलाई बाघले आक्रमण गरी जंगलतर्फ तानेर लगेको थियो ।

घटनाका प्रत्यक्षदर्शी पिमलाल डाँगीका अनुसार ग्वाला गएका उनीहरूले भण्डारीलाई बाघबाट छुटाउन ठूलो प्रयास गरे पनि सफल हुन सकेनन् । ‘हामी सबै सँगै थियौँ, बाघले झम्टिँदा हामी चिच्यायौँ तर बाघले उहाँलाई तानेरै लग्यो’ डाँगीले त्रासदीपूर्ण क्षण स्मरण गर्दै भने । बाघले अन्य ग्वालाहरूलाई समेत आक्रमण गर्ने प्रयास गरेपछि उनीहरूले भागेर मुस्किलले ज्यान जोगाएका थिए । त्यसलगत्तै स्थानीय र प्रहरीको टोलीले खोजी गर्दा भण्डारीको शव फेला परेको हो ।

यस हृदयविदारक घटनाले कुसुम र आसपासका बस्तीमा त्रास फैलाएको छ । निकुञ्ज र राष्ट्रिय वन क्षेत्र नजिक रहेका बस्तीहरूमा पछिल्लो समय बाघको चहलपहल बढ्दा स्थानीय बासिन्दाहरू वनमा जान डराइरहेका छन् । मृतकको शवलाई कानुनी प्रक्रियाका लागि लगिएको छ भने प्रहरी र वन कार्यालयले सो क्षेत्रमा सतर्कता अपनाउन र एक्लै जंगल नजान स्थानीयलाई आग्रह गरेका छन् । मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्दै जाँदा सुरक्षाको चिन्ता थप चुलिएको छ ।


सम्बन्धित समाचार