Logo

२० पुष, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएपछि विश्व राजनीतिमा नयाँ ध्रुवीकरण सुरु भएको छ ।

यसै सन्दर्भमा चीनले कडा प्रतिक्रिया दिँदै मदुरो दम्पतीलाई तत्काल र सर्तविहीन रिहा गर्न अमेरिकासँग माग गरेको छ । आइतबार चिनियाँ विदेश मन्त्रालयले एक विशेष विज्ञप्ति जारी गर्दै भेनेजुएलाका नेतालाई बलपूर्वक पक्राउ गरी अमेरिका पुर्‍याइएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको हो । बेइजिङले वासिङ्टनलाई मदुरोको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न र भेनेजुएलाको सत्ता उल्ट्याउने वैदेशिक हस्तक्षेप तत्काल बन्द गरी संवादको बाटो रोज्न समेत आग्रह गरेको छ ।

चीनले अमेरिकाको यस कदमलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघको बडापत्रको ठाडो उल्लंघनका रूपमा व्याख्या गरेको छ। चिनियाँ विदेश मन्त्रालयका अनुसार कुनै पनि सार्वभौम राष्ट्रको राष्ट्रप्रमुखलाई यसरी नियन्त्रणमा लिनु अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता र सिद्धान्त विपरितको कार्य हो । अमेरिकी सेनाले जनवरी २ को मध्यरातमा भेनेजुएलामा सैन्य आक्रमण गरी मदुरो दम्पतीलाई ‘अपहरण’ शैलीमा न्युयोर्क पुर्‍याएर हिरासतमा राखेको छ। अमेरिकाले उनीहरूमाथि हतियार र लागुऔषध तस्करीको अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको बेला चीनको यो अडानलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसैबीच, मदुरोको अनुपस्थितिमा भेनेजुएलाको सर्वोच्च अदालतको आदेशानुसार उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी दिइएको छ। अमेरिकाले भेनेजुएलामा ‘नार्कोआतंकवाद’ विरुद्धको युद्ध भन्दै आफ्नो कदमको बचाउ गरिरहँदा चीन र अन्य केही मुलुकहरूले भने यसलाई साम्राज्यवादको पराकाष्ठा भन्दै विरोध गरिरहेका छन् ।

यो घटनाले अमेरिका र चीनबीचको कूटनीतिक सम्बन्धमा थप दरार उत्पन्न गराउने र ल्याटिन अमेरिकी क्षेत्रमा शक्ति राष्ट्रहरूको नयाँ द्वन्द्व निम्त्याउने संकेत देखिएको छ ।


सम्बन्धित समाचार