२० पुष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतबाट मुक्त भई पुनः पार्टीको सक्रिय जिम्मेवारीमा फर्किएका छन् ।
जिम्मेवारी सम्हालेलगत्तै आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सभापति लामिछानेको अध्यक्षतामा केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । लामो समयको कानुनी प्रक्रिया र हिरासत बसाइपछि पार्टीको औपचारिक बैठकमा लामिछानेको यो पहिलो सहभागिता हो, जसलाई रास्वपाभित्र र बाहिर निकै चासोका साथ हेरिएको छ । बैठक सुरु भएको जानकारी दिँदै पार्टी प्रवक्ता मनिष झाले सभापतिको पुनरागमनले पार्टी पंक्तिमा नयाँ उत्साह थपेको बताउनुभएको छ ।
यस सचिवालय बैठकको मुख्य एजेण्डा पार्टीको सांगठनिक सुदृढीकरण र आसन्न निर्वाचनको तयारीमा केन्द्रित रहेको छ । विशेष गरी पार्टीको समायोजन प्रक्रियालाई कसरी तार्किक निष्कर्षमा पुर्याउने र आगामी निर्वाचनका लागि उम्मेदवार चयन एवं सांगठनिक संरचना कसरी तयार गर्ने भन्ने विषयमा घनिभूत छलफल भइरहेको छ । लामिछानेको अनुपस्थितिमा रोकिएका कतिपय महत्त्वपूर्ण निर्णयहरू र पार्टीको आगामी राजनीतिक दिशा तय गर्न यो बैठकले विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समय रास्वपाले अन्य साना राजनीतिक दलहरूसँगको एकता र समायोजनलाई तीव्रता दिइरहेको सन्दर्भमा यो बैठकले सोमबार हुने भनिएको राजनीतिक समायोजन घोषणा सभाको अन्तिम तयारीलाई समेत पूर्णता दिनेछ । सभापति लामिछानेले हिरासतबाट फर्किएलगत्तै सक्रियता बढाउँदै अन्य राजनीतिक दलका नेताहरूसँगको भेटघाट र आन्तरिक बैठकहरूलाई तीव्रता दिनुभएको छ ।
रास्वपाले यस बैठकबाट पार्टीको आन्तरिक लोकतन्त्र र प्राइमरी निर्वाचन प्रक्रियाका सम्बन्धमा देखिएका केही असन्तुष्टिहरूलाई सम्बोधन गर्दै एकीकृत रूपमा अगाडि बढ्ने रणनीति अख्तियार गर्ने देखिएको छ ।















