२० पुष, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत धार्मिक तथा सामाजिक विद्वेष फैलाउने गतिविधि बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कडा चेतावनी जारी गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतामा आँच पुर्याउने कुनै पनि कार्य नगर्न सर्वसाधारणमा अपील गर्नुभएको हो । छिमेकी जिल्ला धनुषामा भएको विवादको बाछिटा वीरगन्जसम्म पुगेर स्थिति तनावग्रस्त बनेपछि प्रशासनले शान्ति सुरक्षा कायम राख्न र नागरिकलाई जिम्मेवार बन्न सचेत गराएको छ ।
प्रशासनले विशेष गरी फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता डिजिटल प्लेटफर्महरूमा कुनै पनि धर्म, जात वा समुदाय विरुद्ध घृणा फैलाउने, अफवाह सिर्जना गर्ने र अपमानजनक सामग्री पोस्ट गर्नु गैरकानुनी रहेको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ कि सामाजिक सञ्जालको दुरुपयोग गरी धार्मिक द्वेष फैलाउने व्यक्तिहरूको सूक्ष्म निगरानी भइरहेको छ र त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कारबाही गरिनेछ । कसैको धार्मिक भावनामा आघात पुर्याउने वा सार्वजनिक नैतिकता बिगार्ने खालका उत्तेजक सूचना र सामग्री सेयर नगर्न समेत प्रशासनले आग्रह गरेको छ ।
कानुनी प्रावधानहरूको स्मरण गराउँदै प्रमुख जिल्ला अधिकारी दाहालले मुलुकी अपराध संहिता २०७४ र विद्युतीय कारोबार ऐन २०६३ अनुसार दोषी ठहरिएमा कडा कैद र जरिवानाको सजाय हुने चेतावनी दिनुभएको छ। समाजमा वर्षौँदेखि कायम रहेको आपसी भाइचारा र सहिष्णुतालाई जोगाइराख्न नागरिक, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ता सबैले संयमता अपनाउनु पर्नेमा जोड दिइएको छ । प्रशासनले स्थिति नियन्त्रण बाहिर जान नदिन र शान्ति सुव्यवस्था सुनिश्चित गर्न सुरक्षा निकायलाई समेत उच्च सतर्कतामा राखेको छ ।















