२१ पौष, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरी पन्तले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि मधेसी समुदायका युवालाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । उनले मधेसका छोरा बालेन्द्र (बालेन) साहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने विषय अब पक्काकप्की भइसकेको बताए ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी वीरगञ्ज महानगरपालिका वडा नं. १ को प्रथम ऐतिहासिक वडा भेलालाई सम्बोधन गर्दै सभापति पन्तले समग्र देश नै मधेसका छोरालाई प्रधानमन्त्री बनाउने दिशामा अघि बढिसकेको उल्लेख गरे । “अबको निर्वाचनपछि मधेसको छोरा बालेन साह प्रधानमन्त्री बन्ने बाटो कसैले रोक्न सक्दैन,” उनले भने ।
सभापति पन्तका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसका युवा नेतृत्वलाई देशको कार्यकारी नेतृत्वमा पुर्याउने लक्ष्यसहित बालेन साहलाई अगाडि सारेको हो । उनले यसलाई केवल राजनीतिक एजेन्डा मात्र नभई मधेस र मधेसबासीको गौरवसँग जोडिएको विषय भएको बताए ।
वीरगञ्जको छपकैया बजारमा सम्पन्न उक्त वडा भेलाले धुरुप साहको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपसभापतिमा मनोज कुमार, सचिवमा धीरज साह कलवार चयन भएका छन् । सदस्यहरूमा धुरेन्द्र साह तेली, ललन पासवान, लालचन कुमार कानु, धर्मेन्द्र दास, असलम मियाँ, राधे साह तेली, गिरिजा देवी ठाकुर र उमाराबती देवी रहेका छन् । त्यसैगरी सल्लाहकारमा बैजु साह, मिकाइल मियाँ र श्याम साह चयन भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी वीरगन्ज महानगरपालिका सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भेलामा वडा नं. १ का सयौँ स्थानीयवासीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।
भेलालाई पार्टीका केन्द्रीय सदस्य डा. नन्दन यादव, क्षेत्रीय सभापति राम आर्य लगायतका नेताहरूले सम्बोधन गरेका थिए भने किसान साहले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा महानगर उपसभापति परितोष द्विवेदी, सचिव गौतम श्रेष्ठ, जिल्ला सचिव सुदिष प्रजापति, कोषाध्यक्ष दिलीप कुर्मी, फैयाद मियाँलगायत पार्टी नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।















