Logo

२१ पौष, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु,मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् ।

धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदायबीचको विवादले उग्र रूप लिन थालेपछि मुख्यमन्त्री यादवले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गरेका हुन्। उनले मधेशको विविधता नै यसको सामर्थ्य र शक्ति भएको उल्लेख गर्दै विभाजन होइन, एकताबाट मात्रै मधेश अगाडि बढ्ने स्पष्ट पारेका छन् ।

फेसबुकमार्फत जारी सन्देशमा मुख्यमन्त्री यादवले पछिल्लो समय केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाजन्य गतिविधिले सबैलाई मर्माहत बनाएको बताएका छन्। ‘मधेशको शक्ति एकतामा छ, विभाजनमा होइन,’ भन्दै उनले कुनै पनि किसिमको घृणा र हिंसाले समाजलाई कमजोर बनाउने चेतावनी दिएका छन् ।

धर्मका नाममा भइरहेको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले हिंसाले कहिल्यै समाधान नदिने स्पष्ट पारे। ‘हिंसाको बाटोले व्यक्ति, समाज र राज्य सबैलाई आहत पुर्‍याउँछ,’ उनको भनाइ छ ।

प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले शान्ति–सुरक्षाको अवस्था थप मजबुत बनाइने जानकारी दिए। साथै, कुनै पनि किसिमका अफवाह फैलाउने वा घृणात्मक गतिविधिमा संलग्न जोकोहीमाथि कानुनअनुसार कडा कारबाही गरिनेमा प्रदेश सरकार दृढ रहेको विश्वास दिलाएका छन् ।

मुख्यमन्त्री यादवले आपसी सहिष्णुता, संयमता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्षलाई आह्वान गर्दै सामाजिक सद्भाव कायम राख्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।


सम्बन्धित समाचार