Logo

२१ पुष, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय बल्खुको गम्भीर लापरबाहीका कारण विद्यार्थीहरूले मानसिक र प्रशासनिक सास्ती भोग्नुपर्ने नियति पुनः दोहोरिएको छ ।

हालै सार्वजनिक भएको कानुन संकायतर्फको एलएलबी दोस्रो वर्षको नतिजामा पहिले नै उत्तीर्ण भइसकेका विद्यार्थीलाई समेत फेल र अनुपस्थित देखाएर त्रिविले आफ्नो गैरजिम्मेवारपन प्रदर्शन गरेको हो । पछिल्लो पटक पत्रकार कौशिला कुँवर ले त्रिवीको त्रुटी औल्याएकी छिन् । उनले २०७९ सालमा एलएलबी दोस्रो वर्षका पाँच विषयमध्ये तीन विषय उत्तीर्ण गरी बाँकी दुई विषय (क्रिमिनल ल र एभिडेन्स ल) को पुनः परीक्षा दिएकी थिइन् । तर, नयाँ नतिजामा ती दुवै विषयमा सफल भए पनि पहिले नै उत्तीर्ण भइसकेको पब्लिक इन्टरनेसनल ल मा जबर्जस्ती अनुपस्थित देखाएर उनलाई समग्र नतिजामा अनुत्तीर्ण घोषणा गरिएको छ ।

पीडित विद्यार्थी कुँवरका अनुसार उनले जुन विषयको परीक्षा फारम नै भरेकी थिइनन्, सोही विषयमा त्रिविले अनुपस्थित जनाएर मार्कसिटको पुछारमा ुफेल र अब्सेन्टु लेखिदिएको छ । यस घटनाले त्रिविको डाटा व्यवस्थापन र नतिजा प्रकाशन प्रक्रिया कति फितलो छ भन्ने छर्लङ्ग पारेको छ । आफ्नो पुरानो मार्कसिट र नयाँ अनलाइन नतिजा फेसबुकमा सार्वजनिक गर्दै उनले त्रिविको यस्तो कार्यलाई ुकमालु को संज्ञा दिएकी छन् । एउटा विद्यार्थीले वर्षौँको मिहिनेत गरेर प्राप्त गरेको शैक्षिक उपलब्धिमाथि कार्यालयले गर्ने यस्ता प्राविधिक गल्तीले हजारौँ विद्यार्थीको भविष्य र समयमाथि खेलबाड भइरहेको गुनासो बढेको छ।

कार्यालयको तर्फबाट गल्ती भएको स्वीकार गर्दै त्यसलाई सच्याउने त्रिविका परीक्षा नियन्त्रक प्रा.डा.लक्ष्मण पौडेलले बताएका छन् । तर सच्याउने प्रक्रिया झनै झन्झटिलो रहेको पाइएको छ। त्रिविको यस्तो कार्यशैलीले आफू गल्ती गर्ने र दण्ड विद्यार्थीलाई दिने प्रवृत्तिलाई प्रश्रय दिएको भन्दै विद्यार्थीहरूले आक्रोश व्यक्त गरेका छन् । पटक–पटक दोहोरिने यस्ता लापरबाहीले मुलुककै जेठो विश्वविद्यालयको साखमाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ।


सम्बन्धित समाचार