Logo

२१ पुष, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र चर्चामा रहेको विशेष महाधिवेशनको सान्दर्भिकता अब समाप्त भएको घोषणा गरेका छन् ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले गत मंसिरमै नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको पृष्ठभूमिमा अब विशेष महाधिवेशनको रटान लगाउनुको कुनै तर्कसंगत आधार नरहेको स्पष्ट पारेका हुन् । उनले ‘पर्सि विशेष महाधिवेशन हुँदैन’ भन्दै कार्यकर्ता र नेतृत्वलाई अलमलमा नपर्न आग्रह गर्दै अबको सम्पूर्ण ऊर्जा पार्टीको नियमित प्रक्रियामा लगाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टीभित्रको आन्तरिक व्यवस्थापन र सांगठनिक कार्यमा देखिएको सुस्तताको बचाउ गर्दै सिटौलाले क्रियाशील सदस्यताको विवाद नटुङ्गिई महाधिवेशनको प्रक्रिया अगाडि बढ्न नसक्ने तर्क अघि सारेका छन्। सदस्यताको अन्तिम सूची तयार नभई महाधिवेशनका कार्यक्रमहरू प्रभावित हुनु स्वाभाविक भएको भन्दै उनले निर्वाचनको मुखमा महाधिवेशन गर्दा पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धाले क्षति पुऱ्याउन सक्ने विश्लेषण गरेका छन् । वडादेखि केन्द्रसम्म नै निर्वाचनको तयारी र संगठन सुदृढीकरण अहिलेको मुख्य आवश्यकता भएको उनको ठहर छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको एजेन्डालाई मुख्य मुद्दा बनाइरहेका बेला सिटौलाको यो अभिव्यक्तिले पार्टीभित्रको वैचारिक मतान्तरलाई झनै प्रस्ट पारेको छ । महामन्त्रीहरूलाई पार्टीबाट निकाल्न खोजिएको वा उनीहरूले नेतृत्व छाड्न लागेको भन्ने बजारिया हल्लाको खण्डन गर्दै सिटौलाले पार्टीभित्र कसैलाई विस्थापित गर्ने खेल नभएको दाबी गरेका छन् । विचार र दृष्टिकोणमा विविधता भए पनि सबैले मिलेर आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन लाग्नुपर्ने उनको सन्देश रहेको छ ।


सम्बन्धित समाचार