Logo

२१ पुष, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद (भ्रमण प्रतिबन्ध) उच्चस्तरीय जाँचबुझ आयोगले फुकुवा गर्ने निर्णय गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको समयमा प्रधानमन्त्रीको हैसियतमा ओलीले चालेका कदम र दिएका निर्देशनका सम्बन्धमा अनुसन्धान गर्न आयोगले उनीमाथि उपत्यका छाड्न नपाउने र विदेश भ्रमण गर्न नपाइने गरी बन्देज लगाएको थियो । आयोगका प्रवक्ता एवं पूर्व एआईजी विज्ञानराज शर्माका अनुसार सोमबार बसेको बैठकले अनुसन्धानका क्रममा गर्नुपर्ने आवश्यक सोधपुछ र बयानको कार्य सम्पन्न भइसकेकाले अब ओलीमाथि लगाइएको स्थान हद कायमै राख्नुपर्ने औचित्य नरहेको ठहर गरेको हो ।

गत असोज १२ गते आयोगले ओलीलाई आन्दोलन दबाउन अनावश्यक बल प्रयोग गरेको र मानव अधिकारको उल्लंघन गरेको आरोपमा छानबिनका लागि स्थान हद तोक्ने निर्णय गरेको थियो। करिब तीन महिनापछि आयोगले ओलीसँगको बयान र प्रमाण संकलनको प्रक्रियालाई पूर्णता दिएसँगै यो कानुनी बन्देज हटेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा अनुसन्धानको प्रक्रियामा ओलीले सहयोग गरेको र आवश्यक सूचनाहरू प्राप्त भइसकेकाले उनको हिँडडुलमा लगाइएको रोक हटाइएको उल्लेख गरिएको छ । यस निर्णयसँगै ओलीलाई अब देशका विभिन्न भागमा राजनीतिक कार्यक्रममा सहभागी हुन र विदेश भ्रमणमा जान कानुनी रूपमा बाटो खुलेको छ ।

आयोगको यो पछिल्लो निर्णयलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। विशेषगरी ुजेनजीु आन्दोलनका क्रममा भएको क्षति र राज्यको भूमिकाबारे आयोगले तयार पारिरहेको अन्तिम प्रतिवेदनमा ओलीको संलग्नता कस्तो देखिन्छ भन्ने प्रतीक्षा भइरहेका बेला उनको भ्रमण प्रतिबन्ध फुकुवा भएको हो । ओलीमाथिको प्रतिबन्ध हटे पनि आयोगको अनुसन्धान भने जारी नै रहेको र यसले आन्दोलनका अन्य दोषीहरूका हकमा पनि क्रमशः आफ्नो निर्णय सुनाउने बुझिएको छ । यो फुकुवाले एमालेको आन्तरिक राजनीतिक गतिविधि र आगामी निर्वाचनका सन्दर्भमा अध्यक्ष ओलीको सक्रियतालाई पुनः ऊर्जा प्रदान गर्ने देखिन्छ ।


सम्बन्धित समाचार