२१ पुष, काठमाडौं । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनका सहिद परिवारदेखि ऊर्जा क्षेत्रको सुधारसम्मका महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालनका लागि विशेष अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । यस निर्णयलाई आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारप्रतिको राज्यको दायित्वका रूपमा हेरिएको छ । यसका साथै सरकारले ऊर्जा क्षेत्रमा क्रान्तिकारी कदम मानिएको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ लाई स्वीकृत गरेको छ, जसले इन्धन आयातको निर्भरता घटाउन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रशासनिक क्षेत्रमा पनि सरकारले केही महत्त्वपूर्ण पदोन्नति र नियुक्तिहरू गरेको छ । राष्ट्रिय अनुसन्धान विभागको रिक्त रहेको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गरिएको छ भने नेपाल लेखा परीक्षण सेवातर्फको विशिष्ट श्रेणी (उपमहालेखापरीक्षक) मा घनश्याम पराजुलीलाई नियुक्त गरिएको छ । त्यस्तै, सर्वसाधारणको बचत डुबेर समस्यामा परेका सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गरिएको छ, जसले पीडित बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रियामा सहयोग पुऱ्याउनेछ ।
वैदेशिक रोजगारी र श्रम सम्बन्धका क्षेत्रमा पनि मन्त्रिपरिषद्ले दुरगामी निर्णयहरू लिएको छ । बैठकले नेपाल र ओमान सरकारबीच हुने समझदारीपत्र तथा नेपाल र इजरायल सरकारबीच हुने श्रम सम्झौतालाई औपचारिक रूपमा स्वीकृत गरेको छ । यी सम्झौताहरूले नेपाली कामदारहरूका लागि सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारीको बाटो खोल्ने विश्वास गरिएको छ । यसका अतिरिक्त, वन क्षेत्रको संरक्षण र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन ुवन तेस्रो संशोधन नियमावली २०८२ु लाई समेत सरकारले स्वीकृत प्रदान गरेको छ ।















