२१ पुष, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भीषण झडप भएको छ ।
धनुषाको घटनालाई लिएर उत्पन्न धार्मिक विवादले उग्र रूप लिएपछि प्रशासनले सोमबार दिउँसो १ बजेदेखि महानगरका मुख्य र संवेदनशील क्षेत्रमा भेला, जुलुस र प्रदर्शनमा रोक लगाएको थियो । तर, हिन्दुवादी सङ्गठनका कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन जारी राखेपछि मकालु चोक क्षेत्र युद्धमैदान जस्तै बनेको छ। प्रहरीले प्रदर्शनकारीलाई रोक्ने प्रयास गर्दा आक्रोशित भिडले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको हो ।
तनाव बढ्दै गएपछि वीरगञ्जको जनजीवन पूर्ण रूपमा ठप्प भएको छ भने बजार क्षेत्रमा सन्त्रास फैलिएको छ । प्रशासनले पूर्वमा बसपार्कदेखि पश्चिममा सिर्सिया पुलसम्म र उत्तरमा पावर हाउसदेखि दक्षिणमा शङ्कराचार्य गेटसम्मको विशाल क्षेत्रलाई निषेधित घोषणा गरेको भए तापनि विभिन्न गल्लीहरूबाट निस्किएका प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोड्ने प्रयास गरिरहेका छन् । स्थिति थप भयावह हुन नदिन स्थानीय प्रशासनले वीरगञ्जमा सशस्त्र प्रहरीसहितको थप सुरक्षा बल परिचालन गरेको छ भने सुरक्षाकर्मीहरूलाई ‘हाइ–अलर्ट’ मा राखिएको छ ।
धार्मिक सहिष्णुता खलबलिने जोखिम बढेपछि प्रहरीले संयमता अपनाउन आग्रह गरे पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको भिडन्तका कारण मकालु चोक आसपासको क्षेत्र तनावग्रस्त छ । ढुङ्गामुढा र प्रतिकारका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएको प्रारम्भिक सूचना प्राप्त भए पनि यसको आधिकारिक पुष्टि हुन बाँकी छ । प्रशासनले स्थिति सामान्य बनाउन सर्वपक्षीय छलफलको प्रयास जारी राखेको बताए पनि सडकमा देखिएको मुठभेडले वीरगञ्जलाई पुनः अस्थिरतातर्फ धकेलेको छ ।















