Logo

२१ पुष, काठमाडौं । भदौ २३ र २४ गतेको चर्चित जेनजी आन्दोलनका सन्दर्भमा छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग जवाफ माग गर्दै लिखित प्रश्नवली पठाएको छ ।

आन्दोलनका क्रममा प्रदर्शनकारीलाई महानगरका तर्फबाट पानी वितरण गरी सहयोग पुर्‍याएको र सामाजिक सञ्जालमार्फत आन्दोलनको दिशा परिवर्तन गर्न सेनासँग वार्ता तथा संसद् विघटन जस्ता विवादित सर्त राख्न उक्साएको आरोपमा मेयर शाहमाथि आयोगले सोधपुछ सुरु गरेको हो । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार बालेनले फेसबुकमार्फत आन्दोलनकारीलाई दिएको निर्देशन र तत्कालीन प्रधानमन्त्रीको राजीनामाबारे गरेको दाबीका विषयमा केन्द्रित रहेर स्पष्टीकरण माग गरिएको छ ।

यसअघि नेकपा एमाले निकट अनेरास्ववियुले मेयर शाहविरुद्ध राज्यविरुद्धको कसुरमा कारबाहीको माग गर्दै देशभर उजुरी दिएको थियो । सुरुमा प्रहरीले ती उजुरीहरू जाँचबुझ आयोगमा पठाएको भए तापनि आयोगले पुनः प्रहरीमै फिर्ता गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र बालेनसहितका व्यक्तिहरू विरुद्धका उजुरी हाल तामेलीमा राखिएका छन् । आयोगले यसअघि नै ओली र लेखकसँग बयान लिइसकेको छ, जहाँ ओलीले आफ्नै निवासमा आयोग टोलीलाई लिखित बयान बुझाएका थिए भने लेखकले आयोगमै उपस्थित भएर स्पष्टीकरण दिएका थिए ।

यसैबीच, आयोगले सोही प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि लिखित प्रश्नहरू पठाएको भए तापनि उनीहरूबाट अझैसम्म कुनै प्रतिक्रिया आएको छैन । आन्दोलनका क्रममा विपक्षी दलका नेताहरूको भूमिका र तत्कालीन राजनीतिक समीकरणबारे आयोगले उनीहरूसँग धारणा मागेको हो । आयोगको कार्यविधि माघ ९ गतेसम्म थपिएको र सोही समयभित्रै मेयर बालेन, देउवा र प्रचण्डको जवाफ समेटेर सरकारलाई अन्तिम प्रतिवेदन बुझाउने तयारी भइरहेको प्रवक्ता शर्माले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार