२१ पुष, काठमाडौं । नेपालको पुँजी बजारमा सोमबार उत्साहजनक सुधार देखिएको छ ।
साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ दशमलव ७३ अंकले वृद्धि भई २६३९ दशमलव ३७ विन्दुमा पुगेर बन्द भएको हो । बजारमा आएको यो उछालसँगै कुल २१४ वटा कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने जम्मा ३७ वटा कम्पनीको मूल्यमा मात्र गिरावट देखिएको छ । यस दिन १ करोड २४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको ठूलो कारोबार भएको छ, जसले लगानीकर्तामा पछिल्लो समय आत्मविश्वास बढ्दै गएको सङ्केत गर्दछ ।
आजको कारोबारमा पाँचवटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार र रुरु जलविद्युतको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले प्रतिसेयर ६७ रुपैयाँदेखि अधिकतम १८३ रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। बजारमा तीव्र खरिद चाप देखिएका कारण उत्पादन तथा प्रशोधन, विकास बैंक र होटल तथा पर्यटन क्षेत्रका उपसूचकहरू ३ प्रतिशतसम्मले बढेका छन् भने अन्य सबै क्षेत्रका सूचकहरूमा पनि हरियाली छाएको छ ।
कारोबार रकमका आधारमा भने यस दिन शिवम् सिमेन्ट अग्रस्थानमा देखिएको छ । शिवम् सिमेन्टको मात्रै ३८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यसका अतिरिक्त बन्दीपुर केबलकार, एसवाई प्यानल र श्रीनगर एग्रिटेक जस्ता कम्पनीहरू पनि कारोबारको सूचीमा अगाडि रहेका छन् । बजार बढ्दा पनि घट्ने कम्पनीहरूको गिरावट भने न्यून ९अधिकतम २।४९ प्रतिशत० मात्रै रहेकाले समग्र बजारमा बुलिस प्रवृत्ति हाबी भएको विश्लेषण गरिएको छ । मौद्रिक नीतिमा हुनसक्ने सम्भावित लचकता र बैंक दरमा आएको परिवर्तनको प्रभावले सेयर बजारमा चमक फर्किएको जानकारहरू बताउँछन् ।















