Logo

नेपाली राजनीतिको केन्द्रविन्दु यतिबेला नयाँ दिल्लीतिर सोझिएको देखिएको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण सकेर स्वदेश फर्किनुअगावै नेपाली कांग्रेसकी प्रभावशाली नेत्री डा.आरजु राणा देउवा पनि सोमबार अपराह्न दिल्ली प्रस्थान गरेकी छन् ।
आइतबार दिल्ली गएका प्रचण्डले त्यहाँ आयोजित ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्नुका साथै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभल र अन्य उच्च राजनीतिक नेतृत्वसँग महत्वपूर्ण भेटवार्ता गरेका छन् । प्रचण्ड सोमबार साँझ नेपाल एयरलाइन्सबाट काठमाडौँ अवतरण गर्दै गर्दा आरजुको दिल्ली प्रस्थानले राजनीतिक वृत्तमा नयाँ तरंग र विभिन्न अड्कलबाजीहरू उब्जाएको छ ।

आरजुको यो भ्रमणलाई कांग्रेसले नितान्त व्यक्तिगत वा राजनीतिक भेटघाट भनी स्पष्ट नखुलाए पनि, नेपालका शीर्ष नेताहरूको एकपछि अर्को दिल्ली दौडधुपले अर्थपूर्ण संकेत गरेको छ । रोचक कुरा त के छ भने, गत साता मात्रै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि दिल्लीमा उच्चस्तरीय राजनीतिक छलफल गरेका थिए भने आइतबार प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदी उपचारको सिलसिलामा त्यसतर्फ लागेका थिए । काठमाडौँमा सत्ता समीकरण र आन्तरिक राजनीतिक खिचातानी बढिरहेका बेला प्रमुख दलका नेताहरूको दिल्लीमा हुने यस्ता बाक्ला भेटघाटलाई शक्ति सन्तुलन र भावी राजनीतिक दिशासँग जोडेर हेर्न थालिएको छ।

प्रचण्डले डोभलसँग गरेको सुरक्षा र राजनीतिक ब्रिफिङ लगत्तै आरजुको उपस्थिति हुनुले छिमेकी मुलुकसँगको सम्बन्ध र आन्तरिक राजनीतिमा बाह्य चासोको प्रभावलाई पुनः चर्चामा ल्याएको छ । प्रचण्डले आफ्नो भ्रमणलाई प्रवासी नेपालीहरूको कार्यक्रममा केन्द्रित देखाउन खोजे पनि दिल्लीमा भएका ‘लो प्रोफाइल’ भेटघाटहरूले काठमाडौँको सत्ता राजनीतिमा केही फेरबदल हुनसक्ने सङ्केत गरेका छन् ।

नेत्री राणाले दिल्ली बसाइका क्रममा कुन–कुन तहका नेताहरूसँग संवाद गर्नेछिन् भन्ने विषयले अबको केही दिन नेपाली राजनीतिको तापक्रम तय गर्ने देखिन्छ।


सम्बन्धित समाचार