Logo

२१ पुष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो साङ्गठनिक दायरालाई थप विस्तार गर्दै काठमाडौँमा एक वृहत् राजनीतिक समायोजन घोषणा सभा सम्पन्न गरेको छ ।

सोमबार आयोजित उक्त विशेष समारोहमा नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व, थरुहट तथा थारुवान आन्दोलनका स्थापित अभियन्ताहरू र रास्वपाबीच औपचारिक रूपमा एकता तथा समायोजनको घोषणा गरिएको हो। विशेषगरी तराई–मधेश र थारु बहुल क्षेत्रमा प्रभाव राख्ने नेताहरूको प्रवेशले रास्वपालाई क्षेत्रीय राजनीतिबाट माथि उठेर समावेशी राष्ट्रिय शक्तिका रूपमा स्थापित हुन थप मद्दत पुग्ने देखिएको छ ।

सभालाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले विचार र मुद्दा मिल्ने शक्तिहरूसँगको यो समायोजनले देशमा नयाँ राजनीतिक विकल्पको खोजी गरिरहेका नागरिकहरूमा उत्साह थपेको बताउनुभयो । कार्यक्रममा उपसभापतिद्वय डीपी अर्याल र डा.स्वर्णिम वाग्ले लगायतका शीर्ष नेताहरूले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गर्दै अबको राजनीति केवल नारामा मात्र सीमित नभई परिणाममुखी र मुद्दा केन्द्रित हुने विश्वास दिलाउनुभयो। यो समायोजनलाई रास्वपाले आफ्नो आगामी चुनावी रणनीतिको एक महत्त्वपूर्ण खुड्किलोका रूपमा लिएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा भएको उक्त कार्यक्रममा ठूलो सङ्ख्यामा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । समायोजित हुने नेताहरूले पुराना राजनीतिक दलहरूले थारु र सीमान्तकृत समुदायका मुद्दालाई केवल भोट बैंकका रूपमा मात्र प्रयोग गरेको आरोप लगाउँदै रास्वपाको घण्टीभित्र मात्रै वास्तविक न्याय र विकास सम्भव देखेर आफूहरू समाहित भएको धारणा राखेका थिए । यस नयाँ राजनीतिक समीकरणले आउँदा दिनमा रास्वपाको साङ्गठनिक संरचना र चुनावी नतिजामा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार