Logo

२२ पौष, काठमाडौँ । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि करिब डेढ लाख निर्वाचन प्रहरी भर्ना गर्ने गरी ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड-२०८२’ स्वीकृत गरेको छ ।

गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षाका लागि कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरिनेछ। स्वीकृत मापदण्डअनुसार नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० जना निर्वाचन प्रहरी परिचालन गरिनेछ ।

निर्वाचन प्रहरीलाई १० दिनको तालिम प्रदान गरिनेछ भने ३० दिन कार्यस्थलमा खटाइने व्यवस्था गरिएको छ। भर्ना हुने म्यादी प्रहरीलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाक तथा सेवा सुविधा उपलब्ध गराइने गृह मन्त्रालयले जनाएको छ। रासन सुविधा भने सम्बन्धित जिल्लाको दररेटअनुसार प्रदान गरिनेछ ।

तलब, रासन तथा पोसाकबापतको सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिकै बैंक खातामा जम्मा गरिनेछ। म्यादी प्रहरीलाई आउनेजाने तयारी खर्चबापत प्रतिव्यक्ति ८ सय ४६ रुपैयाँ तथा चार दिनको खाजा खर्च एकमुष्ट १ हजार २ सय रुपैयाँ प्रदान गरिने मापदण्डमा उल्लेख छ ।

पोसाक भत्ता भौगोलिक क्षेत्रअनुसार फरक हुने उल्लेख गरिएको छ। नेपाल प्रहरी मातहत खटिने निर्वाचन प्रहरीका लागि नीलो डाङ्ग्री कपडा र टोपी तोकिएको छ भने सशस्त्र प्रहरी मातहत खटिनेको हकमा सशस्त्रको पोसाकसँग मिल्दोजुल्दो कपडा र टोपी अनिवार्य गरिएको छ ।

निर्वाचनमा नियमित सुरक्षाअन्तर्गत खटिने सुरक्षाकर्मीलाई समेत निर्वाचन प्रहरीसरह १ हजार २ सय रुपैयाँ खाजा खर्च उपलब्ध गराइनेछ । निर्वाचन प्रहरी छनोट तथा नियुक्तिका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिने व्यवस्था गरिएको छ ।

१८ वर्षदेखि ५४ वर्ष उमेर समूहका व्यक्तिले भर्नाका लागि आवेदन दिन सक्नेछन् । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मापदण्ड स्वीकृत गरी दुवै प्रहरी प्रधान कार्यालयमा पठाइसकिएको जानकारी दिएका छन् ।


सम्बन्धित समाचार
भर्खरै