Logo

२२ माघ, वीरगञ्ज । धनुषाको घटनालाई लिएर उत्पन्न विवादका कारण तनावग्रस्त बनेको वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ। यद्यपि, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले आज दिउँसो १ बजेसम्मका लागि कर्फ्यू आदेश लम्ब्याएको छ ।

सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि लगाइएको कर्फ्यूलाई प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज बिहान एक सूचना जारी गर्दै दिउँसो १ बजेसम्म थप गरिएको जानकारी दिएका हुन्। प्रशासनका अनुसार संवेदनशील क्षेत्रहरूमा अझै सतर्कता आवश्यक देखिएकाले शान्तिसुरक्षा कायम राख्न यो निर्णय लिइएको हो ।

कहाँकहाँ छ कर्फ्यू ?

प्रशासनले कर्फ्यूको सीमा निर्धारण गर्दै पूर्वमा बसपार्क (नगवा/इनर्वा), पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्र तोकेको छ । यस अवधिमा सभा, जुलुस, प्रदर्शन तथा बिना काम हिँडडुल गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

हाल वीरगञ्जको मुख्य चोक, बजार र संवेदनशील गल्लीहरूमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति छ । गस्तीलाई समेत कडा बनाइएको छ। “अहिले अवस्था शान्त छ, तर कुनै अप्रिय घटना नघटोस् भन्नका लागि सुरक्षा घेरा मजबुत बनाइएको हो,” प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

प्रशासनले अत्यावश्यक सेवा जस्तै: एम्बुलेन्स, खानेपानी, बिजुली, सञ्चार, स्वास्थ्य सेवा र कूटनीतिक निकायका सवारीसाधनलाई परिचयपत्रका आधारमा आवतजावतमा सहजीकरण गरिरहेको छ ।

यस्तो अवस्थामा सामाजिक सद्भाव कायम राख्नु नै मुख्य चुनौती हुने सामाजिक अभियन्ता प्रकाश थारुले बताएका छन्। उनले भने “वीरगञ्ज जस्तो व्यावसायिक र बहुसांस्कृतिक शहरमा सानो अफवाहले ठूलो रूप लिन सक्छ । प्रशासनले कर्फ्यू लगाएर तत्कालको भीड नियन्त्रण गरे पनि दीर्घकालीन शान्तिका लागि दुवै समुदायका धर्मगुरु र अगुवाहरूलाई टेबलमा राखेर संवाद गराउनु पर्छ। सर्वसाधारणले सामाजिक सञ्जालका उत्तेजक सामग्रीमा विश्वास गर्नु हुँदैन।”

धनुषाको कमलामाई-६ सखुवा मरानस्थित मस्जिदमा गत शनिबार भएको तोडफोड र धार्मिक ग्रन्थ जलाइएको भनिएको घटनाको विरोधमा वीरगञ्जमा आइतबारदेखि प्रदर्शन सुरु भएको थियो । सोमबार निषेधाज्ञा उल्लंघन गर्ने दुवै समुदायका २६ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले दिउँसो १ बजेपछि परिस्थितिको पुनः समीक्षा गरी कर्फ्यू खुकुलो पार्ने वा थप गर्नेबारे निर्णय लिने जनाएको छ। साथै, प्रशासनले कसैलाई पनि अफवाह नफैलाउन र सुरक्षा निकायलाई सहयोग गर्न अपिल गरेको छ।


सम्बन्धित समाचार
भर्खरै