२२ पौष, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा बनेको दाबी दोहोर्याएका छन् । भारतको राजधानी दिल्लीमा आयोजित ‘एकता सन्देश सभा तथा साक्षात्कार’ कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त सरकार गठनको राजनीतिक जिम्मेवारीबाट ओली उम्कन खोजिरहेको आरोप लगाए ।
कार्यक्रमका लागि आइतबार दिल्ली पुगेका प्रचण्डले सोमबार सम्बोधन गर्दै जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकट समाधानका लागि शीर्ष तहमा रातभर छलफल भएको स्मरण गरे। उनका अनुसार पुस २६ गते राति आफू र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति निवासमा बोलाएर देशलाई अस्थिरताबाट ‘नर्मल अवस्थातर्फ’ फर्काउने प्रयास गरिएको थियो ।
प्रचण्डले त्यस समयमा कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी ओलीकै काँधमा रहेको उल्लेख गर्दै अन्तरिम सरकार गठन गर्ने सहमति र औपचारिक सिफारिस दुवै ओलीकै तर्फबाट आएको दाबी गरे। ‘अन्तरिम सरकार सुशीला कार्कीको नेतृत्वमा बनाउने निर्णय भयो र त्यसको सिफारिस केपी शर्मा ओलीकै तर्फबाट गरिएको हो,’ उनले भने, ‘आज आएर त्यसबाट जिम्मेवारी पन्छिन खोज्नु राजनीतिक नैतिकतासँग मेल खाँदैन।’
तर उनले सोही अन्तरिम सरकारको पालामा संसद् विघटन भएको घटनाबारे भने विवादास्पद रहेको बताए। अन्तरिम सरकार गठनका बेला संसद् विघटन गर्ने कुनै सहमति नभएको प्रचण्डको दाबी छ। फरकफरक राजनीतिक दृष्टिकोण रहे पनि संसद् तोडेर चुनावतर्फ जाने विषयमा साझा निष्कर्ष ननिस्किएको उनले बताए।
‘परिस्थितिको मूल्यांकन गर्दै सुशीला कार्की नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटन र निर्वाचनको मिति घोषणा गरियो,’ प्रचण्डले भने, ‘तर त्यसलाई सबैको साझा सहमति थियो भनेर प्रस्तुत गर्नु तथ्यसँग मेल खाँदैन।’
दिल्लीबाट प्रचण्डले दिएको यो अभिव्यक्तिले जेनजी आन्दोलनपछिको सत्ता पुनर्संरचना, अन्तरिम सरकार गठन र संसद् विघटनबारेको बहस पुनः तातेको छ। राजनीतिक अस्थिरताको जिम्मेवारी कसले लिने भन्ने प्रश्नमा शीर्ष नेताहरू अझै एकअर्कामाथि दोषारोपणमै केन्द्रित देखिएको भन्दै राजनीतिक वृत्तमा जवाफदेहिता कमजोर बन्दै गएको टिप्पणीसमेत हुन थालेको छ।















