Logo

default

२२ पुष, काठमाडौं । काठमाडौं उपत्यकामा जाडोको प्रकोप बढ्दै जाँदा तापक्रमले यस वर्षकै न्यून विन्दु छोएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ० डिग्री सेल्सियस मापन गरिएको छ, जुन यस हिउँदको हालसम्मकै कम हो। बिहानको समयमा तापक्रम लगातार घट्ने क्रममा रहेकाले सर्वसाधारणले अत्यधिक चिसो महसुस गरिरहेका छन् । काठमाडौंको तुलनामा ललितपुरको सानेपा क्षेत्र अझ बढी चिसो देखिएको छ, जहाँको तापक्रम २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसमविदहरूले पुष्टि गरेका छन् ।

विगत केही दिनदेखि उपत्यकाको न्यूनतम तापक्रममा निरन्तर गिरावट आइरहेको तथ्यांकले देखाउँछ । गत शनिबार ४ दशमलव ७ डिग्री रहेको तापक्रम आइतबार ४ र सोमबार ३ दशमलव ५ डिग्री हुँदै आज ३ डिग्रीमा ओर्लिएको हो । मौसमविद डेभिड ढकालका अनुसार तापक्रम घटेर यस वर्षको नयाँ रेकर्ड कायम भए पनि यो जनवरी ६ तारिखको औसत न्यूनतम तापक्रम २।२ डिग्रीको तुलनामा भने केही बढी नै हो । यद्यपि, बिहानपख चिसो निकै कडा भए पनि दिउँसो घाम लाग्ने गरेकाले अधिकतम तापक्रममा भने ठूलो फेरबदल आएको छैन, जसले गर्दा दिउँसोको समयमा केही राहत महसुस हुने गरेको छ ।

उपत्यकामा मात्र नभई तराई र मधेशका जिल्लाहरूमा पनि सितलहर र हुस्सुको प्रभाव कायमै रहेको छ । तराईका भू–भागमा बिहानीपख बाक्लो हुस्सु लाग्ने र मध्याह्नपछि मात्र मौसम खुल्ने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा केही दिन हुस्सुको यो अवस्था यथावत रहने सम्भावना छ । न्यूनतम तापक्रम घट्दै जाँदा देशभर चिसोको लहर बढेकाले स्वास्थ्यको ख्याल राख्न र सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।


सम्बन्धित समाचार
भर्खरै