Logo

२२ पुष, काठमाडौं । आर्थिक संकट र बैंकको ताकेतापछि उत्पन्न तनावका कारण सुनसरीको इटहरीमा एक ऋणीले बैंकभित्रै आत्मदाहको प्रयास गरेका छन् ।

एनआईसी एशिया बैंकको इटहरी शाखामा सोमबार दिउँसो लालबहादुर पौडेल नाम गरेका ऋणीले बैंक परिसरमै आफूलाई जलाउने प्रयास गरेका हुन् । पौडेलले आफूलाई मात्र नभई त्यहाँ कार्यरत बैंकका कर्मचारीहरूमाथि समेत पेट्रोल छर्किएपछि बैंकभित्र केही बेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पौडेलले उक्त बैंकबाट १ करोड रुपैयाँ ऋण लिएको र विगत ५–७ महिनादेखि ब्याज भुक्तानी गर्न नसकेको पाइएको छ । ब्याज बक्यौताको विषयमा छलफल गर्न बैंकले बोलाएपछि उनी पूर्वनियोजित रूपमै पेट्रोल बोकेर बैंक पुगेका थिए । घटना लगत्तै सक्रिय भएको सुरक्षाकर्मीको टोलीले पौडेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरी पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काका अनुसार यस घटनाको गम्भीरतालाई हेर्दै बैंकका कर्मचारीहरूलाई पनि सोधपुछका लागि बोलाइएको छ । ऋणको बोझ र बैंकको ताकेताले व्यक्तिको मानसिक अवस्थामा कस्तो असर पुर्‍याउँछ भन्ने यो घटनाले देखाएको छ । प्रहरीले घटनाको थप कारण र परिस्थिति खुलाउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै