Logo

२२ पुष, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौमा घटेको हिंसात्मक घटनाको छानबिन गर्न गठित आयोगसमक्ष आफ्नो बयान दर्ता गराएका छन् ।

आइतबार भक्तपुरको गुण्डुस्थित निजी निवासमा पुगेका आयोगका अधिकारीहरूलाई ओलीले दिएको बयानका मुख्य ६ बुँदाहरू पार्टी सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । बयानका क्रममा अध्यक्ष ओलीले २२ भदौको सुरक्षा परिषद् बैठकमा आन्दोलनलाई शान्तिपूर्ण राख्ने र बल प्रयोग नगर्ने सहमति भएको भए पनि परिस्थिति सोचेभन्दा फरक ढंगले अघि बढेको खुलासा गरेका छन् ।

ओलीले तत्कालीन आन्दोलनमा अराजक समूहको घुसपैठ भएको दाबी गर्दै उक्त तथ्य आन्दोलनकारी युवाहरूले नै स्वीकार गरिसकेको उल्लेख गरेका छन् । उनले आन्दोलनमा सहभागी अधिकांश व्यक्तिहरू जेनजी (नयाँ पुस्ता) का नभएको कुरा तत्कालीन समयका फोटो र भिडियोहरूले नै स्पष्ट पार्ने तर्क अघि सारेका छन् । २३ भदौमा एक्कासि तोडफोड र गोली प्रहारको स्थिति सिर्जना भएपछि सरकारले गृहमन्त्री र सुरक्षा प्रमुखहरूसँगको परामर्शमा छानबिन समिति गठन गर्ने निर्णय लिएको ओलीको बयानमा उल्लेख छ ।

विशेष गरी २४ भदौको असामान्य अवस्थालाई नियन्त्रणमा लिन आफूले नेपाली सेना परिचालनको आवश्यकता महसुस गरेको तर विविध कारणले त्यो सम्भव हुन नसकेको विषयलाई ओलीले महत्त्वपूर्ण रूपमा उठाएका छन् । यस्तै, उनले जाँचबुझ आयोगको निष्पक्षतामाथि समेत प्रश्न उठाएका छन् । आयोगका सदस्य गौरीबहादुर कार्कीले घटना हुनुअघि र पछि पनि सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गरिसकेकाले आयोगबाट आउने प्रतिवेदन कति निष्पक्ष होला भन्नेमा आफूलाई गम्भीर आशंका रहेको ओलीले बताएका छन् ।


सम्बन्धित समाचार
भर्खरै