Logo

२२ पुष, काठमाडौं ।  नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक कलह र आगामी निर्वाचनको रस्साकस्सीबीच नेता डा. शेखर कोइरालाले पार्टीलाई नयाँ जीवन दिन विशेष महाधिवेशनको प्रसंगलाई निकै गम्भीरताका साथ अघि सारेका छन् ।

मंगलबार आफ्नो विशालनगरस्थित सम्पर्क कार्यालयमा भेला भएका पार्टीका चिन्तित केन्द्रीय सदस्यहरूसँग संवाद गर्दै डा. कोइरालाले पार्टीको भविष्य र कार्यकर्ताको भावनालाई जोगाउन माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुने प्रस्ताव राखेका हुन् । निर्वाचनको संघारमा पार्टीभित्र देखिएको यो अन्योल र विवादले तल्लो तहका कार्यकर्तामा निराशा छाएको महसुस गर्दै उनले राष्ट्रिय सभा र प्रतिनिधि सभाको मनोनयन प्रक्रिया सकिएलगत्तै महाधिवेशन गर्दा यसले देशभर एकताको एउटा बलियो सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

पार्टीभित्रको विवादले पिरोलिएका नेता तथा कार्यकर्ताहरूका लागि डा. कोइरालाको यो प्रस्ताव एउटा आशाको किरण बनेर आएको छ । उनले केवल महाधिवेशनको कुरा मात्र गरेनन्, बरु कांग्रेसको आफ्नै अस्तित्व र स्वाभिमानको रक्षाका लागि आगामी निर्वाचनमा कुनै पनि हालतमा गठबन्धन गर्न नहुने अडान समेत दोहोर्‍याए ।

दुई–चार सिट बढी जित्ने लोभमा अर्काको चुनाव चिन्हमा मत माग्दा कांग्रेसको ऐतिहासिक पहिचान र समानुपातिक मतको जग नै भत्किने भन्दै उनले आफ्नै खुट्टामा उभिएर चुनाव लड्नुपर्ने कुरामा जोड दिए । आफ्नो दलको झण्डा र चुनाव चिन्ह रूख लिएर एक्लै मैदानमा उत्रिँदा मात्रै कांग्रेसको वास्तविक सामर्थ्य झल्किने र कार्यकर्ताको मनोबल उच्च हुने उनको गहिरो ठम्याइ छ ।

छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले पनि पार्टीको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै विशेष महाधिवेशनलाई एउटा भव्य चुनावी घोषणासभा का रूपमा रूपान्तरण गर्नुपर्ने सुझाव दिएका छन् । डा. कोइरालाले सबै पक्षको मनोभावनालाई समेटेर केन्द्रीय कार्यसमितिमार्फत नै सहमतिको आधारमा अघि बढ्न आफू निरन्तर प्रयत्नशील रहेको बताउँदा बैठकमा एक किसिमको भावनात्मक ऊर्जा सञ्चार भएको थियो ।

पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिमा कांग्रेसको गरिमा जोगाउन डा. कोइरालाले चालेको यो मध्यमार्गी र साहसी कदमलाई धेरैले पार्टी जोगाउने अन्तिम मौकाका रूपमा हेरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै