Logo

२२ पुष, काठमाडौं । मुलुकभित्र रोजगारीको अभाव र सुनौलो भविष्यको सपना बोकेर हिँडेका सोझा नेपाली युवाहरू कसरी पराई भूमिमा साइबर दास बन्न विवश पारिन्छन् भन्ने एउटा हृदयविदारक तथ्य बाहिर आएको छ ।

सूचना प्रविधिको क्षेत्रमा आकर्षक जागिर र महिनाको लाखौँ कमाइ हुने प्रलोभनमा परेर म्यानमार पुगेका नेपालीहरू चिनियाँ अपराधी गिरोहको पञ्जामा परेर नारकीय जीवन बिताउन बाध्य भएका छन् । थाइल्यान्डको बाटो हुँदै आँखामा पट्टी बाँधेर म्यानमारको विद्रोही क्षेत्र मेवाडी पुर्‍याइएका ती युवाहरूलाई त्यहाँ बन्धक बनाई अवैध अनलाइन स्क्यामिङमा प्रयोग गरिएको घटनाले मानवतालाई नै लज्जित तुल्याएको छ ।

आफ्नो राहदानी र मोबाइल समेत खोसिएपछि बाहिरी संसारबाट काटिएका उनीहरूले नमानेको खण्डमा चरम शारीरिक र मानसिक यातना भोग्नुपर्ने बाध्यता रहेको कारुणिक खुलासा भएको छ।

यही गम्भीर अपराधमा संलग्न रहेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्युरोले पाँच जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। पक्राउ परेका सर्लाहीका रञ्जितकुमार महतो र खोटाङका मणिराज राईसहित फरार रहेका अन्य तीन जनाले नेपाली दाजुभाइलाई डिजिटल दास बनाउन मुख्य एजेन्टको भूमिका खेलेको अनुसन्धानबाट खुलेको छ। उद्धार गरिएका ४७ जना नेपालीको बयान सुन्दा लाग्छ, उनीहरूका लागि म्यानमारको त्यो क्याम्प कुनै नर्कभन्दा कम थिएन । त्यहाँ उनीहरूलाई केटी बनेर झुठो प्रेमको नाटक गर्न लगाउनेदेखि बिटक्वाइन ठगीसम्मका काममा जोताइन्थ्यो।

घर फर्कन चाहनेहरूसँग मोटो रकम फिरौती माग्ने वा थप ३–४ जना नयाँ नेपालीलाई त्यही ट्र्यापमा ल्याउन दबाब दिने गिरोहको शैलीले मानव तस्करीको एउटा निकै डरलाग्दो रूप उजागर गरेको छ।

अझै पनि म्यानमारको त्यो पहुँचबाहिरको इलाकामा करिब १०० जना नेपालीहरू उद्धारको पर्खाइमा छटपटाइरहेका छन्। दूतावास र सुरक्षा निकायको पहलमा हालसम्म १०७ जनाको उद्धार भए पनि बाँकी रहेका ती नेपालीहरूको अवस्थाले परिवार र आफन्तलाई विक्षिप्त बनाएको छ। राज्यको उपस्थिति समेत नभएको विदेशी भूमिमा आफ्ना नागरिकहरू चिनियाँ गिरोहको सुरक्षा घेराभित्र साइबर दास बनेर बाँच्नुपर्ने यो नियतिले हाम्रो श्रम बजार र सुरक्षा संयन्त्रमाथि ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ।

एउटा सामान्य कम्प्युटर ज्ञान भएको युवाले विदेशमा सुख पाउने आशमा आफ्नो सर्वस्व गुमाउनुपर्ने यो अवस्थाले समाजमा व्याप्त बेरोजगारीको पीडा र वैदेशिक रोजगारीका नाममा फैलिएको ठगीको जालो कति गहिरो छ भन्ने प्रस्ट पारेको छ।


सम्बन्धित समाचार
भर्खरै