Logo

२२ पुष, काठमाडौं । नेपाली कांग्रेसको आस्थाको केन्द्र मानिने सानेपास्थित पार्टी केन्द्रीय कार्यालय मंगलबार रणमैदान जस्तै बन्यो । एकातिर राष्ट्रियसभा निर्वाचनको टिकट र तालमेलका लागि भित्र नेताहरूको रस्साकस्सी चलिरहेको थियो भने अर्कातिर बाहिर आफ्नै पार्टीका नेताहरूलाई बन्दी बनाउन पाइँदैन भन्दै नारा लगाउने कार्यकर्ताहरूको आक्रोशको बाढी उर्लिएको थियो ।

आक्रोश यतिसम्म चर्कियो कि, वर्षौँसम्म कार्यकर्ताको काँध चढेर राजनीति गरेका नेताहरूले आज आफ्नै कार्यालयको मूल ढोकाबाट पस्ने हिम्मत समेत गर्न सकेनन् । उनीहरू पछाडिको वैकल्पिक ढोका अर्थात् चोरबाटोबाट लुसुक्क भित्र छिर्न बाध्य भए, जसले लोकतन्त्रको जेठो पार्टीभित्रको आन्तरिक अनुशासन र सम्बन्धको कुरुप चित्र छताछुल्ल पारिदियो ।

बाहिरको वातावरण तब झन् तनावपूर्ण बन्यो जब नेता विमलेन्द्र निधि र प्रदर्शनकारी समूहबीच प्रत्यक्ष आमने–सामने भयो । लिङ्क रोडबाट कार्यालय प्रवेश गर्न खोज्दा कार्यकर्ताले बाटो छेकेपछि सुरु भएको भनाभनले उग्र रूप लियो। ‘को हो त्यो मान्छे? ए को हो? कांग्रेसी होइन यो,’ भन्दै निधिले आक्रोश पोख्दा आफ्नै नेताबाट ‘अकांग्रेसी’ को विल्ला पाएका कार्यकर्ताहरूले पनि उत्तिकै दर्बिलो जवाफ फर्काए— ‘तपाईं चैँ हो ?’। केही समयअघिसम्म जयनेपालको नारामा गला मिलाउनेहरूबीच ‘ओइ, आइजा’ र व्यक्तिगत गालीगलौजसम्मका शब्दहरू साटासाट हुनुले कांग्रेसभित्रको गुटगत खाडल कति गहिरो र तितो भइसकेछ भन्ने प्रष्ट पारेको छ।

यद्यपि, विशेष महाधिवेशन पक्षधर नेता मधु आचार्यले यो घेराउ र विरोध प्रदर्शन पार्टीको औपचारिक कार्यक्रम नभएको दाबी गरेका छन् । स्वस्फूर्त रूपमा उत्रिएका कार्यकर्ताहरूको यो आक्रोशले ११ माघको राष्ट्रियसभा निर्वाचन र चुनावी तालमेलको निर्णय लिन बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई समेत छायामा पारिदियो । सोमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तालमेलको ब्रिफिङ गर्दा राष्ट्रिय हैसियत जोगाउने सपना देखाइएको थियो, तर मंगलबारको यो दृश्यले आफ्नै घरभित्रको कलह नसुल्झाई बाहिरी शक्तिसँग गरिने तालमेलले कस्तो परिणाम देला भन्ने गम्भीर प्रश्न उठाएको छ ।

पार्टी कार्यालयभित्र नेताहरू सुरक्षित महसुस गर्न नसक्ने र बाहिर कार्यकर्ताहरू उपेक्षित हुने यो स्थितिले कांग्रेसको आगामी राजनीतिक यात्रालाई थप चुनौतीपूर्ण र विरक्तलाग्दो बनाएको छ।


सम्बन्धित समाचार
भर्खरै