Logo

२२ पुष, काठमाडौँ । फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचनले राजनीतिक सरगर्मी त बढाएको छ, तर यसैको छायामा करिब साढे ५ लाख किशोर–किशोरीको भविष्य जोडिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) भने अन्योलको भुमरीमा पर्ने देखिएको छ ।

निर्वाचनका लागि छापिने करोडौँ थान मतपत्र र विद्यार्थीका लागि तयार पारिने प्रश्नपत्र एउटै ‘सेक्युरिटी प्रेस’ मा छापिनुपर्ने बाध्यात्मक अवस्थाले गर्दा चैत पहिलो सातादेखि हुने भनिएको एसईई प्रभावित हुने सङ्केत देखिएको हो । राज्यले एकातिर लोकतन्त्रको उत्सव मनाउने तयारी गरिरहँदा अर्कातिर वर्षभरिको पसिना र सपना बोकेर परीक्षाको पर्खाइमा बसेका विद्यार्थीहरू भने आफ्नो कार्यतालिका तलमाथि हुने डरले विक्षिप्त बन्न थालेका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का उपनिर्देशक ताराराज निरौलाका अनुसार, माघको पहिलो सातासम्म परीक्षाको तालिका सार्वजनिक गर्ने गृहकार्य भइरहेको भए पनि मतपत्र छपाइको चापले यो योजनालाई नराम्ररी बिथोल्न सक्छ । जनक शिक्षा सामग्री केन्द्रको प्रेस र जनशक्ति अहिले पूर्ण रूपमा निर्वाचन आयोगको मतपत्र छाप्न केन्द्रित हुने देखिएको छ, जसका कारण फागुन १ गतेदेखि सुरु हुनुपर्ने प्रश्नपत्र छपाइ कार्य अन्योलमा परेको छ । प्रश्नपत्र छाप्न कम्तीमा ३५ दिन लाग्ने प्राविधिक बाध्यता छ । यदि निर्वाचन आयोगले मतपत्र छपाइका लागि प्रेसमा एकाधिकार कायम गरेमा र जनक शिक्षाले आवश्यक समय दिन नसकेमा एसईईको तालिका सार्नुको विकल्प राज्यसँग रहने छैन ।

एकातिर जनक शिक्षाले झण्डै ४ करोड १६ लाख थान मतपत्र छाप्ने सम्झौता गरेको छ भने अर्कातिर १ करोड ७० लाख थान पाठ्यपुस्तक र एसईईको प्रश्नपत्रको जिम्मेवारी पनि उसकै काँधमा छ। यो त्रिकोणात्मक दबाबका बीचमा सबैभन्दा बढी मारमा कलिला विद्यार्थीहरू पर्ने देखिएका छन् । जनक शिक्षाका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले त अब सरकारले नै एसईईको तालिकारे ठोस निर्णय लिनुपर्ने अवस्था आएको स्पष्ट पारेका छन् । राज्यका लागि मतपत्र महत्वपूर्ण होला, तर ५ लाख १७ हजार विद्यार्थीको मानसिक अवस्था र उनीहरूको शैक्षिक क्यालेन्डरमाथि परेको यो अनिश्चितताले ‘भविष्यका कर्णधार भनिएका बालबालिकाको भावनामा कस्तो चोट पुग्ला भन्ने चिन्ता अहिले सर्वत्र छाएको छ ।


सम्बन्धित समाचार
भर्खरै