२२ पुष, वीरगञ्ज। वीरगन्जमा दुई समुदायबीच उत्पन्न भएको धार्मिक विवाद सर्वदलीय तथा सर्वपक्षीय सहमतिपछि समाधानतर्फ उन्मुख भएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा करिब पाँच घण्टा चलेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गर्दै विवाद अन्त्य गर्ने सहमति गरेको हो।
बैठकपछि आज दिउँसो ४ बजे वीरगन्जमा वृहत् सद्भाव र्याली निकाल्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार आपसी समझदारी र सहकार्यका माध्यमबाट शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले उक्त सहमति गरिएको हो।
सहमतिअनुसार अब अन्य मुलुक वा स्थानमा भएका घटनालाई आधार बनाएर वीरगन्जमा कुनै पनि पक्षले विरोध प्रदर्शन नगर्ने निर्णय गरिएको छ। यस्ता विषयमा असहमति भए पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर ज्ञापनपत्र बुझाउने र त्यसपछि मात्रै कुनै कार्यक्रम तय गर्ने सहमति भएको छ।
त्यस्तै, स्थायी सद्भाव संयन्त्र गठन गरी निरन्तर संवाद कायम राख्ने तथा सोही संयन्त्रको पहलमा आज दिउँसो ४ बजे सद्भाव र्याली आयोजना गर्ने निर्णय गरिएको छ। धार्मिक तथा सामाजिक सद्भावमा असर नपर्ने गरी सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्ने र बैठकमा सहभागी सबै पक्षले आफ्ना समुदायका सदस्यलाई अनुशासनमा राख्न प्रतिबद्ध रहने सहमति पनि गरिएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार यस सहमतिसँगै वीरगन्जको अवस्था क्रमशः सामान्य बन्दै जाने अपेक्षा गरिएको छ।
गत सोमबार हिन्दुवादी संगठनहरूले आफ्नो धर्मका देवी–देवतामाथि अभद्र टिप्पणी गरिएको आरोप लगाउँदै प्रदर्शन थालेपछि वीरगन्जको अवस्था तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वीरगन्ज महानगरपालिकामा कर्फ्यु आदेश जारी गरेको थियो। सुरुमा बिहान ८ बजेसम्मका लागि जारी कर्फ्यु आदेश दुई पटक थप गर्दै आज साँझ ६ बजेसम्म लागू गरिएको छ।
















