२२ पुस, वीरगञ्ज । वीरगञ्जमा शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले बाह्य क्षेत्र वा अन्य मुलुकमा घटेका घटनालाई लिएर यहाँ कुनै पनि प्रकारका प्रदर्शन वा आन्दोलन नगर्ने सर्वदलीय तथा सर्वपक्षीय सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा मंगलबार बसेको सर्वपक्षीय बैठकले बाहिर घटेका घटना–दुर्घटनालाई आधार बनाएर वीरगञ्जमा प्रदर्शन वा आन्दोलन गर्नुअघि सम्बन्धित पक्षले अनिवार्य रूपमा प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिनुपर्ने निर्णय गरेको छ। अनुमति प्राप्त भएपछि मात्र कुनै पनि कार्यक्रम, प्रदर्शन वा आन्दोलन सञ्चालन गर्न पाइने व्यवस्था लागू गरिनेछ।
बैठकले भविष्यमा धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव विथोल्न सक्ने गतिविधिलाई समयमै नियन्त्रण गर्न र आवश्यक परे कानुनी कारबाहीका लागि सिफारिस गर्ने उद्देश्यले स्थायी ‘सद्भाव संयन्त्र’ गठन गर्ने निर्णय पनि गरेको छ। उक्त संयन्त्रमा विभिन्न राजनीतिक दल, धार्मिक समुदाय तथा नागरिक समाजका प्रतिनिधिहरू रहनेछन्।
निर्णयअनुसार हिन्दु समुदायबाट रञ्जित साह र रत्न सिंह तथा मुस्लिम समुदायबाट महमद महबुब अली ९शेरु० र अली असगर मर्दानी संयन्त्रमा रहनेछन्। आवश्यकताअनुसार अन्य धार्मिक समुदायका प्रतिनिधि पनि समेटिने व्यवस्था गरिएको छ। त्यसैगरी जिल्ला स्तरीय राजनीतिक दलबाट एक–एक जना प्रतिनिधि, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष तथा नागरिक समाजका प्रतिनिधि पनि संयन्त्रमा रहनेछन्।
बैठकले सञ्चारमाध्यमलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा खलल नपुग्ने गरी जिम्मेवार र संवेदनशील ढंगले समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ। साथै सद्भाव विथोल्ने समूह वा गतिविधिमाथि कडाइका साथ निगरानी गर्दै कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय गरिएको छ।
सर्वपक्षीय बैठकमा सहभागी सबै संस्था, राजनीतिक दल तथा अभियन्ताहरूले बैठकका निर्णयहरू आफ्ना–आफ्ना वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने र निर्णयको समर्थनमा विज्ञप्ति जारी गर्ने प्रतिबद्धता जनाएका छन्। विद्यमान परिस्थितिलाई सहज बनाउन आ–आफ्नो स्थानबाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्ने सहमति पनि गरिएको छ।
सबै पक्षले आपसी सहकार्य, अनुशासन र संयमलाई आत्मसात गर्दै वीरगञ्जमा शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको संंयोजनमा भएको सर्वदलिय र सर्वपक्षिय बैठकले वीरगञ्जलाई शान्त क्षेत्र बनाउन र कुनै अप्रिय घटना हुन नदिन सवै पक्ष सगज रहन अपिल गर्ने निर्णय गरेको छ ।















