२२ पुष, काठमाडौँ । भदौ २३ र २४ गतेका ती रापिला दिनहरू, जब काठमाडौँका सडकहरू जेनजी पुस्ताको गर्जनले थर्किएका थिए, ती घटनाको परकम्प अझै शान्त भएको छैन ।
सोही आन्दोलनको भित्री पाटो र आफ्नो भूमिकाबारे स्पष्ट पार्न काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले जाँचबुझ आयोगलाई १६ वटा प्रश्नको लिखित र गोप्य जवाफ बुझाएका छन् । आयोगले शुक्रबार पठाएको प्रश्नावलीको जवाफ मेयर बालेनले सोमबार एउटा बन्द खामभित्र आफ्ना शब्द र सत्यहरूलाई कैद गरेर पठाएका हुन् । यो बन्द खामभित्र केवल प्रश्नका उत्तर मात्र छैनन्, बरु देशको पछिल्लो राजनीतिक मोडमा एउटा मेयरले निभाएको विवादास्पद तर निर्णायक भूमिकाको प्रतिविम्ब समेत लुकेको छ ।
त्यो बेलाको आन्दोलनमा मेयर बालेनको भूमिका निकै अर्थपूर्ण र भावनात्मक थियो । सडकमा उत्रिएका युवाहरूलाई महानगरको तर्फबाट पानी वितरण गरेर प्यास मेटाउने मानवीय कार्यदेखि लिएर, सामाजिक सञ्जालमार्फत राजनीतिक दिशा निर्देश गर्नेसम्मका काम उनले गरेका थिए । तत्कालीन प्रधानमन्त्रीको राजीनामा आइसकेको भन्दै आन्दोलनकारीलाई घर फर्कन आह्वान गर्ने बालेनले नै नयाँ सरकार गठनका लागि सेनासँग वार्ता गर्न र प्रतिनिधि सभा विघटनको सर्त राख्न युवाहरूलाई उक्साएका थिए । वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई त्यो कुर्सीमा पुर्याउन पर्दा पछाडिबाट बालेनले नै सूत्रधारको भूमिका खेलेको चर्चा अझै पनि राजनीतिक वृत्तमा उत्तिकै ताजा छ ।
आयोगले सोधेका ती १६ प्रश्नहरूले बालेनको त्यही अदृश्य शक्ति र राजनीतिक सक्रियतालाई कोट्याउन खोजेको छ । आफ्नो स्वकीय सचिवालयमार्फत अत्यन्तै गोप्य तवरले बुझाइएको यो जवाफले भदौको त्यो आन्दोलन र त्यसपछिको सत्ता परिवर्तनको श्रृङ्खलामा नयाँ बहस सिर्जना गर्ने निश्चित छ ।
काठमाडौँको सडकदेखि सत्ताको गलियारासम्म आफ्नो प्रभाव छाड्न सफल बालेनको यो गोप्य पत्रले आयोगको छानबिनलाई कुन दिशामा लैजान्छ र भविष्यको राजनीतिमा कस्तो हलचल ल्याउँछ, त्यो भने समयको गर्भमै छ । तर, बालेनले बुझाएको यो जवाफले उनी लोकतान्त्रिक संस्थाप्रति जवाफदेही हुन खोजेको र आफ्नो अडानमा अडिग रहेको स्पष्ट सन्देश दिएको छ ।















