Logo

२२ पुष, काठमाडौँ । मधेश प्रदेशका केही जिल्लाहरूमा धार्मिक र सामाजिक विषयलाई लिएर उत्पन्न पछिल्लो तनाव र असमझदारीप्रति गहिरो चिन्ता व्यक्त गर्दै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्पूर्ण नेपालीमा संयम र भाइचाराको अपिल गर्नुभएको छ ।

बुद्ध र जनकको यो पावन भूमिमा पछिल्ला केही दिनयता देखिएका वैमनस्यता र द्वन्द्वका रेखाहरूले नेपालीको साझा सामाजिक सद्भावलाई चुनौती दिएको महसुस गर्दै उहाँले कसैलाई पनि उत्तेजना, अफवाह वा हिंसाको बाटो नरोज्न आग्रह गर्नुभएको हो । समाजमा यस्ता खाडलहरू बढ्दै जाँदा अन्ततः हाम्रो साझा भविष्य नै संकटमा पर्ने भन्दै उहाँले संवाद र मेलमिलापलाई नै अचुक औषधिका रूपमा अघि सार्नुभएको छ ।

नेपालको विविधता र सहिष्णुता नै हाम्रो वास्तविक शक्ति भएको स्मरण गराउँदै उपराष्ट्रपति यादवले हामी सबै एउटै राष्ट्रिय परिवारका सदस्य भएको भावनात्मक सन्देश प्रवाह गर्नुभएको छ । उहाँले भन्नुभएको छ- हाम्रो भाइचारा र परस्पर विश्वास नै हाम्रो पहिचान हो, जसलाई अक्षुण्ण राख्नु आज प्रत्येक नागरिकको साझा कर्तव्य बनेको छ । धार्मिक वा सांस्कृतिक भिन्नताहरू हामीलाई फुटाउने कारण नभई हाम्रो समृद्धिको धरोहर हुनुपर्नेमा उहाँको जोड छ । यो साझा फूलबारीलाई सुरक्षित र प्रेमपूर्ण बनाउन स्थानीय प्रशासन, धार्मिक अगुवा र नागरिक समाजले एउटा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने समय आएको उहाँको ठम्याइ छ ।

मुलुक अहिले निर्वाचनको एक महत्वपूर्ण र संवेदनशील मोडमा उभिएको बेला समाजमा देखिने सानो असमझदारीले पनि ठूलो क्षति पुर्‍याउन सक्नेप्रति उहाँले सचेत गराउनुभएको छ ।  स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय कार्यभार पूरा गर्नका लागि पनि शान्ति र सद्भाव अनिवार्य रहेको उहाँको भनाइ छ ।

‘हाम्रो सहिष्णुता नै हाम्रो गौरव हो र हाम्रो एकता नै हाम्रो भविष्य हो,’ भन्दै उपराष्ट्रपतिले द्वन्द्व र संकीर्णता त्यागेर एउटा एकताबद्ध र समावेशी नेपाल निर्माणको महायज्ञमा दृढ संकल्पका साथ अगाडि बढ्न सबैलाई आह्वान गर्नुभएको छ ।


सम्बन्धित समाचार
भर्खरै