Logo

२३ पौष, काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) देशभर उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न सकिनेछ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बिहीबार उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। त्यसपछि पुस २७ गते उम्मेदवारले चाहेमा आफ्नो नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन दिउँसो उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनमार्फत फागुन २० गतेदेखि कार्यकाल सकिने १८ सदस्यको स्थानमा नयाँ सदस्य चयन गरिनेछ। निर्वाचन आयोगका अनुसार माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी निर्वाचन कार्यक्रम तय गरिएको छ।

आयोगले राष्ट्रिय जनगणना २०७८ का आधारमा प्रदेशगत मतदाता संख्या र मतभारसमेत सार्वजनिक गरिसकेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।

निर्वाचन आयोगले तोकिएको कार्यतालिका पालना गर्दै स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।


सम्बन्धित समाचार