२३ पौष, वीरगञ्ज । वीरगञ्जमा जातीय हिंसा भड्काउन खोजेको आरोपमा सोमबार पक्राउ परेका वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का पूर्व वडाध्यक्ष तुफान अन्सारीसहित १६ जनालाई रिहा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई आवश्यक सोधपुछ गरी मंगलबार साँझ छोडिएको हो । घटनासँग सम्बन्धित थप अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई पछिल्लो समय वीरगञ्जमा उत्पन्न तनावपूर्ण अवस्थालाई थप उग्र बनाउने उद्देश्यले जातीय तथा साम्प्रदायिक सद्भाव बिगार्न खोजेको आशंकामा नियन्त्रणमा लिइएको थियो । प्रहरीले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइएका सामग्रीको समेत अध्ययन गरिरहेको जनाएको छ ।
प्रहरीले शान्तिसुरक्षा कायम राख्न संवेदनशील क्षेत्रमा निगरानी बढाइएको र कसैले पनि अफवाह फैलाउने वा सामाजिक सद्भावमा खलल पु¥याउने गतिविधि गरे कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । सुरक्षा निकायले अवस्था नियन्त्रणमा रहेको जनाउँदै नागरिकलाई अफवाहमा नपर्न र सुरक्षाकर्मीलाई सहयोग गर्न अनुरोध गरेको छ ।














