Logo

२३ पौष, काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग अभ्यास खेल खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरूप नेपालले अमेरिका, स्कटल्यान्ड र जिम्बाब्वेसँग अभ्यास सिरिज खेल्न लागेको हो ।

यस अभ्यास सिरिजअन्तर्गत नेपालले आज अमेरिकासँग खेलिसकेपछि शुक्रबार स्कटल्यान्ड र आगामी आइतबार जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछ। यी अभ्यास खेलहरू अर्को हप्तादेखि नेपालमै आयोजना हुन लागेको महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको तयारीका लागि महत्वपूर्ण मानिएका छन् ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेको महिला टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यी तीनवटै टेस्ट राष्ट्रका सिनियर महिला टोलीले पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेका हुन्, जुन नेपाली महिला क्रिकेटका लागि ऐतिहासिक उपलब्धि हो ।

हाल विश्वमा १२ देशलाई मात्र टेस्ट क्रिकेटको मान्यता प्राप्त छ, जसमध्ये अफगानिस्तानसँग महिला टोली छैन । विश्व नम्बर एक अष्ट्रेलियासहित इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, श्रीलंका, पाकिस्तान र वेस्ट इन्डिज भने सिधै महिला टी-२० विश्वकपमा छनोट भइसकेका छन् । बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेले भने ग्लोबल छनोटमार्फत विश्वकप यात्रा तय गर्नुपर्नेछ ।

नेपाल र जिम्बाब्वेबीचको खेल माघ १० गते हुनेछ, जुन नेपाली महिला टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रको महिला टोलीसँग खेलेको पहिलो खेल हुनेछ ।

ग्लोबल छनोटमा समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् भने समूह ‘बी’ मा नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाब्वे रहेका छन्। नेपालले आफ्नो पहिलो खेल १८ जनवरीमा थाइल्यान्डसँग माथिल्लो मुलपनी क्रिकेट मैदानमा खेल्नेछ ।

नेपालले पहिलो पटक एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा स्थान बनाएको हो । प्रतियोगितामा दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् भने सुपर सिक्सबाट शीर्ष चार टोली सन् २०२६ मा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।

नेपाली महिला क्रिकेट टोलीका लागि यो प्रतियोगिता विश्व क्रिकेटको मुख्य मञ्चमा पुग्ने ऐतिहासिक अवसरका रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार