२३ पौष, काठमाडौँ । सिरहाको कर्जन्हा नगरपालिका-१ बल्टियाकी १७ वर्षीया किशोरी अविना वैधको हत्या आफ्नै प्रेमीबाट भएको खुलेको छ । घटनाको एक महिनापछि सिरहा प्रहरीले अविनाको हत्यामा संलग्न धनुषा क्षिरेश्वर नगरपालिका-३ का ४५ वर्षीय रामबालक चौधरीलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार प्रारम्भिक अनुसन्धानबाट चौधरी र अविनाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । चौधरी विवाहित हुन् र उनका एक सन्तानसमेत छन् । पछिल्लो समय श्रीमतीसँगको पारिवारिक विवादका कारण उनी छुट्टै बस्दै आएको प्रहरीको भनाइ छ ।
गत मंसिर २२ गते कर्जन्हा नगरपालिका-२ स्कुल टोलस्थित कमला सिँचाइ नहर नजिकको झाडीमा अविनाको शव फेला परेको थियो । घटनापछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहा तथा इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीका अनुसार मंसिर २१ गते साँझ धनुषाको पोर्ताहास्थित एक होटलमा मदिरा सेवन गरेका चौधरीले अविनालाई पटक-पटक फोन गरेका थिए । राति साढे ८ बजे फोन सम्पर्क भएपछि उनले अविनालाई भेट्न बोलाएका थिए । अविना राति करिब सवा ९ बजे चौधरीको डेरामा पुगेकी थिइन् ।
अनुसन्धानका क्रममा अविना विवाहको प्रस्ताव राख्दै आएकी थिइन् भने अन्य पुरुषसँग फोन तथा अडियोभिडियो सम्पर्क गरेको आशंकामा चौधरी असन्तुष्ट हुँदै आएको खुलेको छ । यही विषयमा विवाद भएपछि आवेशमा आएर चौधरीले अविनाको घाँटी थिच्नुका साथै ढुंगाले प्रहार गरेको प्रहरीले जनाएको छ । बेहोस भएपछि उनलाई नजिकैको झाडीमा लगेर पुनः ढुंगाले अनुहार किची हत्या गरी फरार भएको खुलेको छ ।
पक्राउ परेका चौधरीलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














