२३ पौष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा अज्ञात समूहको आक्रमणबाट दुई किशोर घाइते भएका छन् । मंगलबार राति सडक किनारमा आगो ताप्दै बसेका बेला एक समूहमा आएका अपरिचित व्यक्तिहरूले अचानक कुटपिट गर्दै धारिलो हतियार प्रहार गर्दा स्थानीय १८ वर्षीय सुरज महतो र विकास कुमार महतो घाइते भएका हुन् ।
प्रारम्भिक रूपमा घाइतेको नाम वीरज र विकास बताइए पनि प्रहरी अनुसन्धानपछि मुख्य घाइते सुरज महतो भएको पुष्टि गरिएको छ। सुरजको पेटमा दुई स्थानमा चोट लागेको छ । विकासलाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ । दुवै घाइतेलाई स्थानीयवासीको सहयोगमा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार दुवै जनाको अवस्था हाल सामान्य छ र उपचार जारी छ ।
घाइते सुरज महतोले आफूहरू घर नजिकैको खाली प्लटमा पाँच/छ जना मिलेर आगो तापिरहेका बेला एक्कासि धारिलो हतियार बोकेको समूह आएर आक्रमण गरेको बताए।
‘एक्कासि आएर चक्कु जस्तो हतियारले प्रहार गरे, बाँसले पनि हाने,’ उनले भने, ‘किन आक्रमण गरियो भन्ने केही थाहा छैन।’
उनीसँगै रहेका विकास कुमार महतोले पनि आफूलाई लडाएर कुटपिट गरिएको बताए। उनका अनुसार भिश्वा र फुलबारी टोलतर्फका युवाहरूको समूह आक्रमणमा संलग्न हुनसक्ने आशंका गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी निरीक्षक विक्रम सुवेदीले धारिलो हतियार प्रयोग भएको देखिए पनि घटनास्थलमा चक्कु फेला नपरेको जानकारी दिए।
‘घाउको प्रकृति हेर्दा चक्कु प्रहार जस्तो देखिन्छ, तर आक्रमणकारीहरू प्रहरी पुग्नुअघि नै फरार भइसकेका थिए,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाको कारण अझै खुल्न बाँकी छ। आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि आसपासका क्षेत्रमा निगरानी कडा पारिएको छ। प्रहरीको खोजतलास जारी रहेको जनाइएको छ।
यो पनि :
वीरगञ्ज-१६ मा दुई किशोरमाथि छुरा प्रहार














