Logo

२३ पुष, काठमाडौँ । नेपाली कांग्रेसभित्र राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटलाई लिएर आन्तरिक कलह सतहमा आएको छ । उम्मेदवारी चयनको मापदण्ड र प्रक्रियाप्रति गम्भीर असहमति जनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका छन् ।

हिजोको बैठकमा समेत अनुपस्थित रहेका शर्माले आज पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई टेलिफोन गरी आफू सहभागी नहुने स्पष्ट जानकारी गराएका हुन् । पार्टीले उम्मेदवार छनोटका लागि कुनै ठोस र न्यायोचित मापदण्ड बनाउन नसकेको र पुरानै शैलीको गुटबन्दीपूर्ण ‘भागबण्डा’ लाई प्रश्रय दिएको भन्दै उनले असन्तुष्टि पोखेका छन् ।

स्रोतका अनुसार महामन्त्री शर्माले पार्टीभित्रको ६०/४० को पुरातन भागबण्डा र नेताहरूको खल्तीबाट उम्मेदवार छान्ने प्रवृत्तिको ुसाक्षी किनाराु बस्न नसकिने अडान राखेका छन् । उनले विधि र पद्धतिभन्दा पनि व्यक्ति केन्द्रित भएर निर्णय हुने परिपाटीले पार्टीलाई क्षति पुग्ने भन्दै नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।

यस विषयमा जिज्ञासा राख्दा महामन्त्री शर्माले आफ्नो अनुपस्थितिको पछाडि ‘केही राजनीतिक र केही स्वास्थ्य’ कारण रहेको बताए पनि मुख्य कारण भने उम्मेदवार छनोटको अपारदर्शी प्रक्रिया नै रहेको बुझिएको छ । राष्ट्रिय सभाको मनोनयन दर्ता गर्ने अन्तिम समय घर्कन लाग्दा कांग्रेसभित्र देखिएको यो किचलोले उम्मेदवारहरूको अन्तिम सूची तय गर्न नेतृत्वलाई थप दबाब सिर्जना गरेको छ ।


सम्बन्धित समाचार