Logo

२३ पुष, काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोटको विषयलाई लिएर पार्टीभित्र तीव्र मतभेद र महामन्त्री विश्वप्रकाश शर्माको बैठक बहिष्कारका बीच नेपाली कांग्रेसले अन्ततः आफ्ना ९ उम्मेदवारहरूको नामावली टुंगो लगाएको छ ।

बुधबार बिहान ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले एमाले र जसपा नेपालसँगको चुनावी तालमेलको सहमतिअनुसार उम्मेदवारहरूको नाममा अन्तिम मुहर लगाएको हो । पार्टीले सातै प्रदेशलाई समेट्ने गरी समावेशी आधारमा उम्मेदवारहरू चयन गरेको दाबी गरे पनि छनोट प्रक्रियामा देखिएको असन्तुष्टिले भने सानेपामा केही समय तनावपूर्ण वातावरण सिर्जना गरेको थियो ।

कांग्रेसले सार्वजनिक गरेको नामावलीअनुसार कोसी प्रदेशबाट सुनिल बहादुर थापालाई मैदानमा उतारिएको छ भने मधेस प्रदेशबाट धमेन्द्र पासवान र सञ्जत कर्णलाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यसैगरी, बागमती प्रदेशका लागि गीता देवकोटा, गण्डकीका लागि जगत तिमल्सिना र लुम्बिनी प्रदेशबाट बासुदेव जंगली तथा चन्द्रबहादुर केसीले चुनावी टिकट पाएका छन् । कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशको रिक्त पदका लागि खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णयसँगै कांग्रेसले आफ्नो भागमा परेका सबै सिटको टुंगो लगाएको हो ।

यो निर्णय हुनुपूर्व महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा उम्मेदवार छनोटको स्पष्ट मापदण्ड नभएको र पुरानै भागबण्डा शैली अपनाइएको भन्दै बैठक नै बहिष्कार गरेका थिए । अर्कोतर्फ, सत्ता समीकरणभित्रै रहेको नेकपाले ४ सिटको अडान नछाडेका कारण भागबण्डामा अझै केही सकस देखिए पनि कांग्रेसले आफ्नो तर्फबाट नामहरू सार्वजनिक गरेर निर्वाचनको तयारीलाई तीव्रता दिएको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार आजै उम्मेदवारहरूको मनोनयन दर्ता गर्नुपर्ने भएकाले कांग्रेसले आन्तरिक दबाबका बीच यी नामहरू बाहिर ल्याएको बुझिएको छ ।


सम्बन्धित समाचार