२३ पुष, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको अन्तिम घडीमा प्रमुख दलहरू मिलेर चुनाव लड्ने गरी बनाइएको महागठबन्धनको प्रयास असफल भएको छ ।
निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय सुरु हुनै लाग्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली कांग्रेस र नेकपा एमालेसँगको तालमेलबाट बाहिरिने निर्णय गरेको हो । १८ सिटका लागि हुन लागेको यस निर्वाचनमा कांग्रेसले ९ र एमालेले ८ सिट लिने गरी भागबण्डा गरेपछि आफ्नो अस्तित्व र मतभार अनुसारको स्थान नपाएको भन्दै नेकपाले देशभर एकल रूपमा उम्मेदवारी दिने तयारी थालेको छ । नेकपाका नेता प्रकाश ज्वालाले कांग्रेस र एमालेसँग गठबन्धन नहुने स्पष्ट पार्दै अब पार्टीले सबै क्षेत्रमा आफ्नै उम्मेदवार खडा गर्ने जानकारी दिनुभएको छ ।
राष्ट्रिय सभाको अंकगणितमा नेपाली कांग्रेस र एमाले मिल्दा निकै बलियो स्थिति देखिएको छ । यी दुई दलको मतभार सातै प्रदेशमा निर्णायक रहेको र कतिपय प्रदेशमा दुई(तिहाइ बहुमत समेत पुग्ने भएकाले उनीहरूबीचको सहकार्यले अन्य साना दललाई ठूलो चुनौती सिर्जना गरेको छ । मधेस प्रदेशमा मात्र तेस्रो शक्ति जनता समाजवादी पार्टी (जसपा) लाई एक सिट दिएर समेटेका कांग्रेस–एमालेले बाँकी सबै सिटमा आफ्नै बर्चस्व कायम राख्न खोजेपछि नेकपा चिढिएको हो । विशेषगरी बागमती र कर्णाली जस्ता प्रदेशमा नेकपाको मतभार उल्लेख्य भए पनि दुई ठूला दलको मिलनले उसलाई सिटविहीन बनाउन सक्ने जोखिम बढेको छ ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आजै उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । ५५० प्रदेश सभा सदस्य र १५०६ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू मतदाता रहने यस निर्वाचनमा कांग्रेस र एमालेको महागठबन्धनबीच अन्तर्घात नभएमा उनीहरूको जित लगभग निश्चित देखिन्छ । तर, नेकपाले एकल उम्मेदवारी दिने निर्णय गरेसँगै निर्वाचन अब केवल औपचारिक मात्र नभई राजनीतिक शक्ति परीक्षणको मैदान समेत बन्ने भएको छ ।
यसले एकातिर प्रमुख प्रतिस्पर्धी दलहरूलाई एक ठाउँमा ल्याएको छ भने अर्कोतिर महागठबन्धनबाट बाहिरिएको नेकपालाई आफ्नो जनमत जोगाउन थप दबाब सिर्जना गरेको छ ।















