२३ पुष, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उहाँले सुनसरी १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेू स्पष्ट पार्नुभएको हो । २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा सनसनीपूर्ण जित निकाल्दै मेयर बन्नुभएका साम्पाङले पछिल्लो समय आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गराएर राजनीतिक सक्रियता बढाउनुभएको छ । उहाँको यो घोषणासँगै सुनसरीको चुनावी राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।
यसअघि २०७९ को निर्वाचनमा यस क्षेत्रबाट नेकपा (एमाले) र जसपाको गठबन्धनका तर्फबाट अशोक राई निर्वाचित हुनुभएको थियो । साम्पाङले उम्मेदवारी घोषणा गरेसँगै अब यस क्षेत्रमा परम्परागत शक्ति र नयाँ वैकल्पिक शक्तिबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । साम्पाङले ‘जय माटो, जय देश’ को नारासहित चुनावी अभियानको संकेत दिँदा धरान र आसपासका क्षेत्रका मतदातामाझ नयाँ बहस सुरु भएको छ । मेयरको कार्यकाल बाँकी छँदै प्रतिनिधि सभामा जान खोज्नुलाई कतिपयले उहाँको राजनीतिक महत्वाकांक्षाका रूपमा लिएका छन् भने कतिपयले यसलाई धरानको मुद्दा राष्ट्रिय स्तरमा पुर्याउने प्रयासका रूपमा हेरेका छन् ।
साम्पाङको उम्मेदवारीसँगै अन्य प्रमुख दलहरूले पनि आफ्ना उम्मेदवारहरूको सिफारिस प्रक्रियालाई तीव्रता दिएका छन् । नेकपा (एमाले) बाट केन्द्रीय सदस्य मन्जु भण्डारी, पूर्वसांसद जयकुमार राई र टिका माङ्लेनको नाम चर्चामा छ भने नेपाली कांग्रेसले उमेश थापासहित ८ जनाको नाम क्षेत्रीय स्तरबाट सिफारिस गरेको छ । कांग्रेसको सूचीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मादेखि जिल्ला सचिव माधवबहादुर घिसिङसम्मका प्रभावशाली नेताहरू रहेका छन् । धरानको मेयर भएर ‘श्रम संस्कृति’ को नयाँ मानक स्थापित गर्न खोज्नुभएका साम्पाङका लागि यो संसदीय निर्वाचन अग्निपरीक्षा साबित हुने निश्चित छ ।















