२३ पुष, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा उम्मेदवारी दिने र कुनै निश्चित राजनीतिक दलमा प्रवेश गर्ने भन्ने विषयमा चलिरहेको बजारिया चर्चाको औपचारिक खण्डन गर्नुभएको छ ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट चुनावी मैदानमा उत्रिने भनी भइरहेको अडकलबाजीका बीच मन्त्री खरेलले आफूले अहिलेसम्म उम्मेदवारी दिने वा नदिने भन्नेबारे कुनै ठोस निर्णय नलिएको प्रष्ट पार्नुभएको हो । बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो उम्मेदवारीका बारेमा आएका समाचारहरूमा सत्यता नरहेको दाबी गर्नुभयो ।
मन्त्री खरेलले आफू हालसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको र उम्मेदवारीका विषयमा कुनै पनि दलसँग औपचारिक वा अनौपचारिक वार्ता समेत नगरेको जिकिर गर्नुभयो । सञ्चार माध्यमहरूले उम्मेदवारीका विषयलाई लिएर फरक ढङ्गले समाचार सम्प्रेषण गरेकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान निष्पक्ष निर्वाचन गराउनेतर्फ मात्र केन्द्रित रहेको बताउनुभयो । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मुख्य म्यान्डेट नै सफल निर्वाचन सम्पन्न गर्नु भएकाले अन्य राजनीतिक महत्वकांक्षामा आफू नअल्झिएको उहाँको तर्क थियो ।
आफ्नो राजनीतिक भविष्यका बारेमा भइरहेका टीकाटिप्पणीलाई लिएर आपत्ति नरहेको उल्लेख गर्दै मन्त्री खरेलले आधिकारिक धारणा नबुझी समाचार नलेख्न समेत सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो । उहाँले स्पष्ट पार्नुभयो कि कुनै पार्टीमा जाने, वार्ता गर्ने वा ‘आउँछु’ भन्ने जस्ता कुनै पनि गतिविधिमा उहाँ संलग्न हुनुभएको छैन ।
निर्वाचनको मिति नजिकिँदै गर्दा सरकारका मन्त्रीहरूकै उम्मेदवारीका चर्चाले राजनीतिक वृत्त ततिरहेका बेला सञ्चारमन्त्रीको यो स्पष्टीकरणले ती अड्कलबाजीहरूलाई तत्कालका लागि मत्थर पार्ने प्रयास गरेको छ।















