Logo

२३ पुष, काठमाडौँ । बागमती प्रदेश सरकारले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भौतिक क्षति व्यहोरेका सवारी धनीहरूलाई लक्षित गर्दै विशेष कर छुटको घोषणा गरेको छ ।

आन्दोलनका बेला आगजनी वा तोडफोडमा परी पूर्ण रूपमा क्षति भएका सवारी साधनहरूको लगत कट्टा गर्न चाहने धनीहरूलाई चालु आर्थिक वर्ष २०८२/८३ को सवारी साधन कर र नवीकरण दस्तुरमा शतप्रतिशत छुट दिने निर्णय गरिएको हो । गत पुस १६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको उक्त निर्णयलाई राजपत्रमा समेत प्रकाशन गरी औपचारिक रूपमा कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ।

यस सहुलियत योजना अन्तर्गत सरकारी, निजी, पर्यटकीय र सार्वजनिक गरी सबै श्रेणीका सवारी साधनहरूले लाभ लिन पाउनेछन् । सार्वजनिक सवारी साधनहरूको हकमा भने सरकारले थप सहुलियत प्रदान गर्दै सवारी कर र नवीकरण दस्तुरका अतिरिक्त जाँच पास र बाटो इजाजत पत्रको नवीकरण दस्तुर समेत पूर्ण रूपमा मिनाहा गरिदिएको छ । यो सुविधा प्राप्त गर्नका लागि सम्बन्धित सवारी धनीले आफ्नो सवारी साधन पूर्ण रूपमा क्षति भएको पुष्टि हुने गरी प्रहरी मुचुल्कासहितका आवश्यक आधिकारिक कागजातहरू पेस गर्नुपर्ने प्रावधान राखिएको छ ।

यसका साथै आन्दोलनका कारण यातायात कार्यालयहरूको सेवा प्रभावित हुँदा समयमै राजस्व बुझाउन नपाएका सवारी धनीहरूका लागि पनि सरकारले जरिवाना छुटको व्यवस्था गरेको छ । आन्दोलनको अवधिमा राजस्व तिर्ने अन्तिम म्याद परेका सवारी साधनहरू आगामी माघ मसान्तसम्म कार्यालयमा उपस्थित भएमा उनीहरूले बाटो इजाजत पत्र र जाँच पास नवीकरणमा लाग्ने थप जरिवाना तिर्नुपर्ने छैन । आन्दोलनका क्रममा भएको क्षतिबाट आहत भएका यातायात व्यवसायी र सर्वसाधारणलाई आर्थिक रूपमा केही राहत दिने उद्देश्यले प्रदेश सरकारले यो नीति अघि सारेको हो ।


सम्बन्धित समाचार
भर्खरै