Logo

२३ पुष, काठमाडौँ । आन्तरिक कलह र गुटबन्दीको उत्कर्षमा पुगेको नेपाली कांग्रेसभित्र संस्थापन पक्षको असहमति रहेकै अवस्थामा असन्तुष्ट पक्षले विशेष महाधिवेशनको औपचारिक घोषणा गरेको छ ।

सञ्चार तथा प्रचार प्रसार समितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यही पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेको हो । पार्टीले यसअघि तय गरेको १५ औँ महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि विधानको मर्मअनुसार विशेष महाधिवेशन नै एकमात्र निर्विकल्प बाटो भएको दाबी गर्दै यो पक्षले भृकुटीमण्डप समेत बुकिङ गरिसकेको जानकारी दिएको छ ।

विशेष महाधिवेशन पक्षधरले जारी गरेको विज्ञप्तिअनुसार २०८२ पुस २८ भित्र सम्पन्न हुनुपर्ने १५ औँ महाधिवेशन समयमै हुने सम्भावना टरेपछि बाध्यकारी अवस्थामा यो कदम चालिएको हो । विशेष महाधिवेशनका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाउन स्थानीय प्रशासनलाई पत्राचार गरिसकिएको र विभिन्न उपसमितिहरू समेत गठन भइसकेको सचिवालयले जनाएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षको वैचारिक समर्थन रहेको ठानिएको यो समूहले देशभरका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँमा उत्साहपूर्ण सहभागिताका लागि आह्वान गरेको छ ।

यता, सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले भने यो घोषणाप्रति कडा आपत्ति जनाएको छ । फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको आम निर्वाचनलाई मुख्य प्राथमिकता दिनुपर्ने भन्दै देउवा पक्षले अहिलेको अवस्थामा विशेष महाधिवेशन सम्भव नरहेको तर्क अघि सारेको छ। निर्वाचनको मुखैमा पार्टीभित्र समानान्तर गतिविधिले चुनावी नतिजालाई असर पार्ने र विधानको गलत व्याख्या गरिएको संस्थापनको आरोप छ । नेतृत्वबीचको यो तीव्र ध्रुवीकरणले मुलुककै जेठो लोकतान्त्रिक पार्टी विभाजनको सँघारमा पुग्ने हो कि भन्ने आशंका राजनीतिक वृत्तमा उब्जाएको छ ।


सम्बन्धित समाचार
भर्खरै