२३ पुष, काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र चुनावी रणनीतिका विषयलाई लिएर आन्तरिक कलह चर्किएका बेला महामन्त्री गगनकुमार थापाले जुनसुकै मूल्य चुकाएर भए पनि पार्टी एकता कायम राख्ने उद्घोष गर्नुभएको छ ।
पछिल्लो समय पार्टी विभाजनको संघारमा पुगेको चर्चा चलिरहँदा थापाले आफू पार्टीलाई फुट्न नदिन हरसम्भव प्रयास गर्ने बताउनुभएको हो । नेता डा.चन्द्र भण्डारी र डा. सुनिल शर्मासँगको विशेष संवादका क्रममा उहाँले पार्टीको हितका लागि आफू व्यक्तिगत रूपमा जस्तै कठोर निर्णय लिन वा विष पिउन समेत तयार रहेको भन्दै कार्यकर्ताहरूलाई आश्वस्त पार्नुभएको छ।
महामन्त्री थापाले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा युवा पुस्ताले कांग्रेसमाथि धेरै प्रश्नहरू उठाएको स्वीकार गर्दै ती भावनाहरूलाई सम्बोधन नगरे पार्टी मृतप्रायः हुने चेतावनी दिनुभएको छ । पार्टीलाई जीवन्त र सान्दर्भिक बनाउन नयाँ पुस्ताको चाहनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले कसैले चाहेर पनि कांग्रेस नफुट्ने दाबी गर्नुभयो । संवादका क्रममा थापाले कार्यकर्ता र शुभचिन्तकहरूलाई निराश नहुन आग्रह गर्दै आन्तरिक लोकतन्त्रको लडाइँले पार्टीलाई कमजोर नभई थप बलियो बनाउने तर्क गर्नुभयो ।
सोही अवसरमा नेता डा.चन्द्र भण्डारीले आन्दोलनका क्रममा नेता–कार्यकर्ताका घरहरू जलेको र ठूलो क्षति भएको सन्दर्भ कोट्याउँदै जनताले अझै पनि नेताहरूमा परिवर्तनको महसुस गर्न नसकेको गुनासो गर्नुभयो । संसारभर रहेका नेपालीहरूले कांग्रेसको आन्तरिक जीवनलाई चासोका साथ हेरिरहेको उल्लेख गर्दै उहाँले नेतृत्वले अब एकताको स्पष्ट सन्देश दिनुपर्नेमा जोड दिनुभयो ।
तीन नेताहरूबीच भएको यो संवादले कांग्रेसभित्रको पछिल्लो असन्तुष्टिलाई साम्य पार्न र आगामी निर्वाचन अगावै पार्टीलाई एक ढिक्का बनाउन दबाब सिर्जना गरेको देखिएको छ ।















