२३ पुष, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय उदाएका नयाँ राजनीतिक शक्ति र स्वतन्त्र अभियानप्रति कडा प्रहार गर्दै उनीहरूले आगामी दुई दशकसम्म चुनाव जित्ने कुनै सम्भावना नरहेको दाबी गर्नुभएको छ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँका मेयर बालेन शाह लक्षित टिप्पणी गर्नुभएको हो । रास्वपाले बालेन शाहलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको सन्दर्भलाई व्यङ्ग्य गर्दै ओलीले ‘के उहाँहरूले अघि सारेको उम्मेदवारले देश बनाएको छ र हामीले महान् भन्दिनुपर्ने? भन्दै प्रश्न उठाउनुभयो । देश निर्माणका लागि दिमाग ठिक ठाउँमा हुनुपर्ने र उन्माद एवं नशाका भरमा मुलुक नबन्ने उहाँको तर्क थियो ।
सम्बोधनका क्रममा ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति पनि तीव्र असन्तुष्टि व्यक्त गर्नुभयो । सरकारले चुनावको वातावरण बनाउनुको साटो हेटौँडामा घर भत्काउने र सुकुम्वासी बस्ती उठाउने जस्ता ध्वंसात्मक कार्यमा मात्र ध्यान दिएको उहाँको आरोप छ । लोकतन्त्र र संविधानको रक्षा गर्नुको सट्टा सरकार आफ्नो दायराभन्दा बाहिर गएर काम गरिरहेको टिप्पणी गर्दै उहाँले अहिलेको अवस्थामा शान्तिपूर्ण चुनाव हुनेमा आशंका व्यक्त गर्नुभयो । सेना परिचालन गर्दैमा चुनाव निष्पक्ष नहुने जिकिर गर्दै उहाँले सेना केवल ‘ब्याक फोर्स’ का रूपमा रहनुपर्ने तर सरकारले यसको अपव्याख्या गरिरहेको बताउनुभयो ।
अध्यक्ष ओलीले पुराना दलहरू एमाले र कांग्रेसले जित्ने डरले चुनाव नगराउन खोजिएको दाबी गर्दै चुनाव भए एमालेले नै बहुमत ल्याउने ठोकुवा गर्नुभयो।















