Logo

२३ पुष, वीरगञ्ज । वीरगञ्जको सामुदायिक शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरू सञ्चालक समिति विरुद्ध चर्को आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीको भविष्यप्रति समिति गम्भीर नभएको र उनीहरूको हित विपरीत कार्य गरेको आरोप लगाउँदै विद्यार्थीहरूले बुधबार क्याम्पसमा तालाबन्दी गरी विरोध प्रदर्शन गरेका छन्।

आन्दोलनकारी विद्यार्थीहरूले बिहानी कक्षाका विद्यार्थी बोकेको बसलाई समेत बाहिर निस्कन नदिएर क्याम्पस प्रशासन तथा सञ्चालक समिति विरुद्ध नाराबाजी गरेका थिए।

विद्यार्थीहरूका अनुसार महँगो शुल्क निर्धारण गरी एकमुष्ठ तिर्न बाध्य पार्नु, समयमा आन्तरिक परीक्षा सञ्चालन नगर्नु, दिवा बस सेवा बन्द गर्नु र अनावश्यक प्रक्रिया मिचेर कर्मचारी भर्ना गर्नु उनीहरूको आन्दोलनका मुख्य कारण हुन्।

शुल्कको विषयमा विद्यार्थीहरूले गम्भीर आरोप लगाएका छन्। उनीहरूका अनुसार एकैपटक पच्चीस हजार रुपैयाँ तिर्न नसक्ने विद्यार्थीलाई परीक्षाबाट वञ्चित गरिदिने धम्की क्याम्पस प्रशासनले दिएको छ। शुल्कसम्बन्धी विवादले गर्दा अहिलेसम्म एउटा पनि आन्तरिक परीक्षा नहुँदा विद्यार्थीहरू मारमा परेका छन्।

दिवा बस सेवा बन्द हुँदा विद्यार्थीहरू सार्वजनिक सवारीमा चर्को भाडा तिरेर क्याम्पस आउन बाध्य बनेका छन्। यसबाहेक, क्याम्पस सञ्चालक समितिले शैक्षिक व्यवस्थापनमा ध्यान नदिई अनावश्यक रूपमा कर्मचारी भर्ना गरेकोमा समेत विद्यार्थीहरूको असन्तुष्टि रहेको छ।

छात्रवृत्ति वितरणको प्रक्रियामा समेत विद्यार्थीहरूले गम्भीर अनियमितताको आरोप लगाएका छन्। उनीहरूका अनुसार क्याम्पसबाट दिइने छात्रवृत्तिलाई सञ्चालक समितिका सल्लाहकार प्रकाश खेतानको जेपि इन्टरप्राइजेजको कार्यालयमार्फत मनलाग्दी वितरण गरिँदा वास्तविक विद्यार्थीहरू हतोत्साहित भएका छन्।

निमित्त क्याम्पस प्रमुख रविन्द्र यादव ले पनि विद्यार्थीका असन्तुष्टिहरू सहि भएको भन्दै सञ्चालक समितिसँग पटकपटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो पोखे। उनले पछिल्लो समय सञ्चालक समितिले गरिरहेका गतिविधिले सामुदायिक क्याम्पसलाई निजिकरणतर्फ डोहोऱ्याउन लागेको आशङ्का व्यक्त गरे।

यसैबीच, नियम विपरीत सञ्चालक समितिले गरेका निर्णय तथा नियुक्तिको विरोधमा हरि खेतान कर्मचारी युनियन तथा हरि खेतान प्राध्यापक सङ्घले समेत मङ्गलबार संयुक्त विज्ञप्ति निकालेका थिए। यद्यपि, सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानले भने आरोपहरू निराधार भएको र समिति विधान बमोजिम अघि बढेको दाबी गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै