२३ पुष, वीरगञ्ज । वीरगञ्जमा तस्करीका विवादास्पद किंग पिन उपनामले चिनिने मदन गुप्ता उर्फ रुन्चे को गोदाममा सशस्त्र प्रहरीले गोप्य रूपमा छापा मारेको छ। वीरगञ्जको आदर्शनगरस्थित उनको जय माँ दुर्गा करियर (ट्रान्सपोर्ट) गोदामबाट सशस्त्र प्रहरीले लाखौँ मूल्य बराबरका तस्करीका सामग्रीहरू नियन्त्रणमा लिएको छ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम भण्डारी को नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा यो कारवाही गरेको हो।
के के बरामद भयो ?
छापामारीका क्रममा प्रहरीले गोदामबाट ६ पोका साटिन सुटका कपडा र १ पोका जुत्ता बरामद गरेको छ। बरामद गरिएका यी सामग्रीहरूको अनुमानित मूल्य २० लाख रुपैयाँ रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार यी सामानहरू भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको आशङ्का गरिएको छ।
बरामद गरिएका सम्पूर्ण सामग्रीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गर्ने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
गुप्ताको गोदाममा छापा मारिएको यो पहिलो घटना भने होइन। गत चैत महिनामा पनि तत्कालीन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलको टोलीले सोही गोदामबाट करिब २० लाख रुपैयाँ बराबरको तस्करीको सामग्री बरामद गरेको थियो।
लामो समयदेखि कपडा, हार्डवेयरलगायतका सामानहरूको तस्करीमा संलग्न रहेका गुप्तामाथि वीरगञ्ज भन्सारका केही कर्मचारीहरूको संरक्षण रहेको आरोप लाग्दै आएको छ। यसअघिका छापामा लाखौँ मूल्यका सामान बरामद भए पनि उनीमाथि कडा कानुनी कारबाही नहुनुले यो संरक्षणको आशङ्कालाई थप बलियो बनाएको छ। स्थानीय स्तरमा यस विषयमा निरन्तर आलोचना हुँदै आएको छ।
सशस्त्र प्रहरीका अधिकारीहरूले भने पछिल्लो छापामारीले तस्करी नियन्त्रणमा कडाइ गर्ने स्पष्ट सङ्केत दिएको बताएका छन्। उनीहरूका अनुसार तस्करीका नाकाहरूमा कडा निगरानी बढाइएको छ र यस्ता कारबाहीहरू नियमित हुनेछन्।
हुन्डी कारोबारदेखि विभिन्न तस्करीका आरोपहरू लाग्दै आएका विवादास्पद व्यवसायी मदन गुप्ता रुन्चे माथि यस पटकको कारवाहीले थप अनुसन्धानको बाटो खुल्ला गर्ने र तस्करी नियन्त्रणका लागि निर्णायक कदम चाल्ने अपेक्षा स्थानीय बासिन्दाले गरेका छन्।















