Logo

२४ पौष, काठमाडौँ । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका अनुसार बिहीबार उम्मेदवारको योग्यतामाथि प्रश्न उठाउँदै उजुरी दिन सकिने व्यवस्था गरिएको हो ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बुधबार सातै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। मनोनयन दर्तासँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रमअनुसार पुस २५ र २६ गते मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी योग्य उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जानकारी दिएको छ। यसैगरी पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ ११ गते तोकिएको समयअनुसार हुने आयोगले स्पष्ट पारेको छ। आयोगले निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र कानुनसम्मत बनाउन सबै पक्षलाई सहयोग गर्न आह्वान गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै