२४ पौष, वीरगञ्ज । मधेश प्रदेशबाट राष्ट्रिय सभाका लागि चार पदमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय, मधेश प्रदेश जनकपुरधामका अनुसार अन्य, महिला, दलित तथा अल्पसङ्ख्यक/अपाङ्गता भएका व्यक्ति समूहअन्तर्गत विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले चारवटै समूहमा उम्मेदवारी दर्ता गराएको छ । जनता समाजवादी पार्टी नेपालले तीन, नेपाली कांग्रेसले दुई तथा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले एक/एक पदका लागि उम्मेदवारी दिएका छन् ।
महिला समूहमा जसपा नेपालकी चन्द्रकला देवी साह, नेकपा एमालेकी रेखा कुमारी झा र नेकपाकी शमी कुमारी अग्रवाल उम्मेदवार बनेकी छन् । दलित समूहबाट जसपा नेपालकी चमेली देवी दास, कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारीले उम्मेदवारी दर्ता गराएका छन् ।
अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद, कांग्रेसका रञ्जित कर्ण र जसपा नेपालका शैलेश कुमार चौधरी प्रतिस्पर्धामा छन् । यस्तै, अन्य समूहमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेलले उम्मेदवारी दिएका छन् ।
मधेश प्रदेशका निर्वाचन अधिकृत सुभाष बाबु पुरीका अनुसार प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य र २ सय ६६ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय ७० जना मतदाता रहेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा कांग्रेस, एमाले, जसपा र लोसपा नेपालबीच गठबन्धन बनेको छ ।
लोसपा र जसपा नेपालबीच पार्टी एकताको निर्णय भइसके पनि औपचारिक प्रक्रिया अझै पूरा नभएको लोसपाका नेता सदाशिव मिश्रले जानकारी दिएका छन् । अब उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएपछि मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको राजनीतिक प्रतिस्पर्धा थप रोचक हुने भएको छ ।















